३० कार्तिक २०८३, सोमबार
Follow us :

छठको सार्वजनिक बिदामा पनि खुल्ने भए कर कार्यालय

कात्तिक मसान्तमा कर विवरण दाखिला, बक्यौता फरफारक र आर्थिक ऐनले दिएका छुट सुविधा उपयोग गर्नुपर्ने भएकाले आन्तरिक राजस्व विभागको निर्णय

कान्तिपुर प्रेस

काठमाडौं । छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिए पनि आन्तरिक राजस्व विभागअन्तर्गतका कर कार्यालयहरू खुला रहने भएका छन् ।कात्तिक मसान्त करदाताका लागि महत्त्वपूर्ण समयसीमा भएकाले विभागले सार्वजनिक बिदाकै दिन पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

कात्तिक मसान्तसम्म करदाताले गत आर्थिक वर्षको आय विवरण दाखिला गर्नुपर्नेछ । त्यस्तै, आर्थिक ऐन २०८३ ले प्रदान गरेका कर छुट तथा सुविधा उपयोग गर्ने पनि यो अन्तिम अवसर हो ।यसका अतिरिक्त बक्यौता फरफारक गर्ने तथा अन्तःशुल्क लाग्ने वस्तु निष्कासनसम्बन्धी काममा समेत विभागले सहजीकरण गर्ने जनाएको छ ।

आन्तरिक राजस्व विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा सबै आन्तरिक राजस्व कार्यालयलाई पत्राचार गर्दै कार्यालय खुला राख्न निर्देशन दिएका छन् ।

विभागले राजस्व संकलन गर्ने बैंकहरूसँग आवश्यक समन्वय गरी कार्यालय सञ्चालन गर्न र करदातालाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ । सरकारी बिदाका कारण करदाताले तोकिएको समयसीमाभित्र करसम्बन्धी दायित्व पूरा गर्न समस्या नहोस् भन्ने उद्देश्यले विभागले यस्तो व्यवस्था गरेको हो ।

 

२९ कार्तिक २०८३, आईतवार १७:४८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०