९ मंसिर २०८३, बुधबार
Follow us :

महिला हिंसा उन्मूलन दिवस : न्याय र सुरक्षाको सुनिश्चिततामा जोड

महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लङ्घनको व्यापक स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच तथा जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ ।

कान्तिपुर प्रेस

काठमाडौँ । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लङ्घनको व्यापक स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घले यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच तथा जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ ।

संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र संयुक्त राष्ट्रसङ्घीय महिला निकाय (यूएन वुमन) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो । यो तथ्याङ्कअनुसार विश्वमा औसतमा प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको हत्या हुने गरेको देखिन्छ ।

महिला तथा बालिकामाथि हुने हिंसाका विभिन्न स्वरूपमध्ये हत्या सबैभन्दा चरम अवस्था हो । उनीहरूमाथि हुने हिंसा प्रायः लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण तथा असमान शक्ति सम्बन्धसँग जोडिएको प्रतिवेदनले औँल्याएको छ ।

महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले विभिन्न कानुनी तथा नीतिगत प्रयास गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो । त्यस्तै, सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो ।

महिला अधिकारकर्मीहरूले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका थिए । सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको घटनाको स्मरणमा यो दिन छनोट गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ डिसेम्बर १७ मा प्रस्ताव पारित गरी नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो । त्यसयता सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय संस्था तथा गैरसरकारी संस्थालाई यस दिन विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गर्न आह्वान गरिँदै आएको छ ।

नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् मानव अधिकार दिवससम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसमेत सञ्चालन गरिन्छ । अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सरकार, नागरिक समाज तथा समुदायको सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्दै आएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा सबै देश र समुदायलाई प्रभावित पार्ने विश्वव्यापी लज्जाको विषय भएको उल्लेख गर्दै यसको अन्त्यका लागि न्याय सुनिश्चित गर्न र रोकथामका प्रयासलाई तीव्र बनाउन आह्वान गर्नुभएको छ ।

दिवसका अवसरमा जारी सन्देशमा उहाँले हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श तथा सुरक्षित आश्रयको व्यवस्था गर्न र हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गर्नुभएको छ ।

यसै अवसरमा राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले हिंसापीडित महिलालाई संरक्षण र न्याय उपलब्ध गराउन तथा दोषीलाई जवाफदेही बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

९ मंसिर २०८३, बुधबार ०७:२८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०