काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ।राष्ट्रिय जेनजी नागरिक अभियानले आनी छोइङको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो। नियुक्तिको कानुनी वैधता परीक्षण तथा विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितताको माग गर्दै रिट दायर गरिएको अभियानले जनाएको छ।
नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा आनी छोइङलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएको भन्दै रिटमा त्यसको वैधानिकतामाथि प्रश्न उठाइएको छ।
सुनील सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीका तर्फबाट दायर भएको रिटमा आनी छोइङको नियुक्ति सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड, २०७१ बमोजिम नभएको दाबी गरिएको छ।अभियानले नियुक्तिको विषयमा सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएको जनाएको छ। सरकारले सुनुवाइ नगरेपछि कानुनी उपचारका लागि सर्वोच्च अदालतमा रिट दायर गरिएको अभियानको भनाइ छ।
मन्त्रिपरिषद्ले गत असोज ३० गते आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। उनले मङ्सिर २ गते पदबहाली गरेकी थिइन्। अब सर्वोच्च अदालतले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै नियुक्तिको विषयमा आवश्यक आदेश दिनेछ।










