काठमाडौं, असोज १२ — हाल देशभर पश्चिमी वायु प्रणालीको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीका कारण मौसममा व्यापक परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ भने विभिन्न प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा पनि वर्षासहित हिमपात भइरहेको जानकारी प्राप्त भएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको सम्भावना छ।
आज राति देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ।
मौसमको प्रभावले देशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने देखिएको छ। बागमती, कमला, कोशी र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना रहेको छ। साथै महाभारत र चुरे क्षेत्रबाट बहने स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम उच्च रहेको विभागको भनाइ छ।
बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली; मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी; कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्लामा बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च देखिएको छ।
मौसमको यो परिवर्तनले जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रहरूमा प्रभाव पार्न सक्ने भएकाले सम्बन्धित निकाय तथा नागरिकहरूलाई सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।












