ललितपुर, फागुन ११। नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर राणाको व्यक्तित्वमाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी गर्नुभएको छ। नमुना महिला सञ्जाल गोदावरी नगरपालिकाले आयोजना गरेको निर्वाचन लक्षित विशाल महिला भेलालाई सम्बोधन गर्दै उपसभापति भुसालले उदय जी कुनै दाग नलागेको, भ्रष्टाचार विरोधी र अत्यन्तै इमान्दार नेता भएको बताउनुभयो। उहाँले उदय शमशेर राणाको नेतृत्व र निष्ठामाथि कसैले औँला ठड्याउन नसक्ने कुरामा जोड दिँदै उहाँको विजय नै क्षेत्रको विकासको आधार भएको बताउनुभयो।
सम्बोधनका क्रममा भुसालले नेपाली कांग्रेस अब पूर्ण रूपमा बदलिएर नयाँ परिवेशमा आएको र यो देशको नेतृत्व अब पार्टी सभापति गगन थापाले गर्ने ठोकुवा गर्नुभयो। विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको बताउँदै उहाँले राष्ट्रको समृद्धिको स्पष्ट मार्गचित्र पार्टीको घोषणापत्रमा उल्लेख गरिएको जानकारी दिनुभयो। बिना एजेन्डा केवल भ्रम छर्न चुनावमा आउनेहरूलाई जनताले यसपटक मत नदिने उहाँको दाबी थियो। राष्ट्रको मुहार फेर्ने संकल्प कांग्रेसले लिएको बताउँदै उहाँले कांग्रेसलाई देशको सबैभन्दा ठूलो पार्टी बनाउन र चुनावी नतिजा आफ्नो पक्षमा पार्न अहोरात्र खटिन देशभरका र विशेष गरी गोदावरी क्षेत्रका नेपाली महिलाहरूलाई विशेष आह्वान समेत गर्नुभयो।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवं ललितपुर क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर राणाले नेपाली कांग्रेसले विशेष महाधिवेशनपछि महिलाहरूलाई विशेष स्थान दिएको बताउनुभयो। देशमा समृद्धि ल्याउनका निमित्त राजनीतिकदेखि सबै तहमा महिलाको व्यापक सहभागिता गराउनुपर्ने उहाँको तर्क थियो।

त्यस्तै, बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जनले विशेष महाधिवेशन पछाडि नेपाली कांग्रेस बदलिएर आएको बताउँदै क्षेत्र नम्बर १ मा जित्न सक्ने र क्षमतावान् उम्मेदवारलाई कांग्रेसले टिकट दिएर पठाएको उल्लेख गर्नुभयो। राणा नेपाली कांग्रेसको तर्फबाट शक्तिशाली मन्त्रालय सम्हाल्न सक्ने र विकासको भिजन भएको नेता भएकोले ललितपुर १ को समृद्धिका लागि उहाँलाई नै विजयी गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

नेपाली कांग्रेस महासमिति सदस्य शशी खड्का गुरुङले महिलाहरू एक ढिक्का भएर निर्वाचनमा होमिनुपर्ने र नेपाली कांग्रेसलाई जिताउन सक्रिय हुनुपर्ने बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे लगायतको सहभागिता रहेको थियो। सोही अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी केही प्रभावशाली व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई उपसभापति भुसाल र उम्मेदवार राणाले पार्टीमा स्वागत गर्नुभएको थियो।












