२५ माघ २०८२, शनिबार
Follow us :

विश्वकै छोटो उचाइ यात्रा समेटिएको नेपाली डकुमेन्ट्री ‘जिरो टु ८८४८’ एटलान्टामा प्रदर्शन हुने

कान्तिपुर प्रेस

नेपालको भूगोल, संस्कृति र साहसिक यात्रालाई विश्वसामु चिनाउने उद्देश्यले तयार गरिएको नेपाली डकुमेन्ट्री ‘जिरो टु ८८४८’ (Zero to 8848) आगामी नोभेम्बर ८ (शनिबार) का दिन अमेरिकाको एटलान्टास्थित AMC North DeKalb 16, Decatur मा पहिलो पटक प्रदर्शन हुने भएको छ ।
दिउँसो १२ बजेदेखि ३ बजेसम्म हुने उक्त प्रिमियर कार्यक्रममा नेपाली र अन्तर्राष्ट्रिय दर्शकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

नेपालको दक्षिणी भूभाग कचनकवल (समुद्री सतहबाट ५८ मिटर) बाट सुरु भएर विश्वकै अग्लो शिखर सगरमाथा (८८४८ मिटर) सम्मको अद्भुत यात्रा समेटिएको यो डकुमेन्ट्री विश्वकै सबैभन्दा छोटो उचाइ फरक (Zero to 8848m) भएको भौगोलिक मार्गको खोज र प्रस्तुतिमा केन्द्रित छ ।

डकुमेन्ट्रीको निर्देशन निरञ्जन पाण्डेले गरेका हुन् भने सह–निर्देशक तथा सम्पादक बलराम बुढाथोकी रहेका छन् । चलचित्रको अवधारणा वरिष्ठ पत्रकार प्रेम बानियाँले तयार गरेका हुन् । करिब चार वर्षको मेहनतपछि तयार भएको यो फिल्मले साहसिक यात्रा, संस्कृति र परम्परा, कला–वास्तुकला, र जलवायु परिवर्तन सम्बन्धी चेतनालाई एकसाथ पस्किएको छ ।

चलचित्रमा प्रेम बानियाँसँगै टेन्डी शेर्पा (१८ पटक सगरमाथा आरोहण गरेका पर्वतारोही), पुष्कर शाह (पर्वतारोही, साइकल यात्री तथा लेखक), अन्तर्राष्ट्रिय पर्वतारोही तथा लेखक कनराड एन्कर र आरोही क्ले वाडम्यान समेतको सहभागिता रहेको छ ।

‘जिरो टु ८८४८ इन्टरटेनमेन्ट’ द्वारा निर्मित यस डकुमेन्ट्रीका सह–निर्मातामा कपिल शरण वाग्ले, राजेन्द्र पाण्डे, एलेक्स पराजुली, श्रीराम वाग्ले, जय नारायण साह र गोबिन्द गुरुङ छन् । कार्यकारी निर्माता श्रीराम वाग्ले हुन् ।

करीब १० लाख अमेरिकी डलर लागतमा बनेको र १ घण्टा ४६ मिनेट लामो यस डकुमेन्ट्रीको छायांकन बलराम बुढाथोकीले गरेका हुन् । उनलाई उमाङ साहि, सुरज गुरुङ, केशव निरौला, सुजन गुरुङ र दावा शेर्पाले साथ दिएका छन् ।

फिल्मले नेपालको भौगोलिक विविधता, संस्कृति, जनजीवन र जलवायु परिवर्तनको असरलाई गहिरो रूपमा प्रस्तुत गरेको छ । यो यात्रा तराईका हरिया मैदानदेखि हिमालका हिउँले ढाकिएका शिखरसम्म पुग्छ जहाँ नेपालले आफ्नो आत्मा, पहिचान र सहनशीलताको कथा सुनाउँछ ।

२२ कार्तिक २०८२, शुक्रबार १३:२७ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०