६ माघ २०८२, सोमबार
Follow us :

फूल्चोकी माध्यमिक विद्यालयमा सामाजिक परीक्षण सम्पन्न

कान्तिपुर प्रेस

ललितपुर । गोदावरी नगरपालिका–ठैवस्थित फूल्चोकी माध्यमिक विद्यालयले सामाजिक परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष ध्रुवप्रसाद पोखरेलको संयोजकत्वमा गठित सामाजिक परीक्षण समितिले तयार पारेको प्रतिवेदन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरोज बज्राचार्यलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा गोदावरी नगरपालिकाका सामाजिक विकास समितिका संयोजक शेखर न्यौपानेले नमूना विद्यालयले नमूना ढङ्गले सामाजिक परीक्षण सम्पन्न गरेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले विद्यालयले शैक्षिक नेतृत्वमा पनि अब्बलता देखाएकाले यसका असल अभ्यास अन्य विद्यालयलाई पनि सिकाउनुपर्ने बताउनुभयो।

सामाजिक परीक्षण प्रतिवेदन ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरोज बज्राचार्यले प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्दै विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधारमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक गोपालकुमार पाण्डेले सरोकारवालालाई स्वागत गर्दै विद्यालयको गुणस्तर अभिवृद्धि र अभिभावक शिक्षामा केन्द्रित भएर अघि बढ्ने धारणा राख्नुभयो।

विद्यालयले सामाजिक परीक्षण मापदण्ड २०७८ बमोजिम सामाजिक परीक्षण सम्पन्न गरेको हो। नियमअनुसार विद्यालय व्यवस्थापन समितिले गठन गरेको शिक्षक अभिभावक सङ्घ, सोही सङ्घद्वारा गठित सामाजिक परीक्षण समिति तथा सामाजिक परीक्षण समितिद्वारा गठित तीन सदस्यीय प्राविधिक समितिले प्रक्रिया पूरा गरेका हुन्।

प्राविधिक समितिका संयोजक तथा गोदावरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत पदमबहादुर कुँवरले सामुदायिक विद्यालयले सामाजिक परीक्षणलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जवाफदेहिता र पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिनुभयो। समितिका सदस्य तथा विद्यालयका शैक्षिक योजना संयोजक नवराज सञ्जेलले सामाजिक परीक्षणका मापदण्ड, कानुनी व्यवस्था र प्रतिवेदनबारे प्रस्तुति गर्नुभएको थियो।

फूल्चोकी महाविद्यालयका क्याम्पस प्रमुख नरेन्द्र महर्जनले सामाजिक परीक्षणको नयाँपन र अभ्यास देखेर खुसी लागेको प्रतिक्रिया दिनुभयो।

बागमती प्रदेशको नमूना विद्यालयका रूपमा स्थापित फूल्चोकी माध्यमिक विद्यालयले ‘हरेक वर्ष आदर्श’ नाराका साथ विद्यालय सुधारका प्रयासलाई निरन्तरता दिँदै आएको छ। यस वर्ष विद्यालयले ‘जिम्मेवार अभिभावक, जिम्मेवार शिक्षक’ को अवधारणासहित अघि बढेको जनाएको छ।

सार्वजनिक कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घका पदाधिकारी, शिक्षक तथा विद्यार्थी प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको थियो।

पारदर्शिता र जवाफदेहिता कायम गर्दै समुदायप्रति उत्तरदायी बन्न, गुणस्तरीय शिक्षा, शैक्षिक सामग्री, शिक्षक उपस्थिति तथा शिक्षण–सिकाइको अवस्थाको समीक्षा गर्न सामाजिक परीक्षण विद्यालयका लागि अनिवार्य मानिन्छ। साथै भवन, शौचालय, खानेपानी, प्रविधि जस्ता कमी–कमजोरी पहिचान गरी समाधान खोज्ने उद्देश्यले हरेक सामुदायिक विद्यालयले पहिलो चौमासिकभित्र सामाजिक परीक्षण सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

२० पुष २०८२, आईतवार १६:२६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०