ललितपुर, असोज २८ / नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काको सभापतित्वमा सम्पन्न भयो। बैठकले हालको राजनीतिक संकट, जेन–जेड प्रदर्शन, हिंसात्मक घटनाहरू, अन्तरिम सरकार गठन तथा आगामी निर्वाचनबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले भदौ २३ गते भ्रष्टाचारविरुद्ध जेन–जेड युवाहरूको प्रदर्शनमा १९ जनाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको माग गर्दै बैठकले सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ।
त्यसैगरी, भदौ २४ गते भएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीका कारण ५७ जनाको मृत्यु र सयौँ नागरिक घाइते भएको घटनालाई बैठकले “अराजनीतिक, आपराधिक र विध्वंसकारी” भन्दै कडा शब्दमा निन्दा गरेको छ। राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, पार्टी कार्यालयहरू, नेताहरूका निजी निवासहरूमा भएको आक्रमणलाई बैठकले लोकतान्त्रिक मूल्यविपरीत ठहर गर्दै सत्य–तथ्य छानबिन र दोषीमाथि कानूनी कारबाहीको माग गरेको छ।
बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ। निर्वाचनलाई संविधानको रक्षा र जनआवाजलाई संस्थागत गर्ने माध्यमका रूपमा लिँदै कांग्रेसले सहभागिता जनाउने घोषणा गरेको छ।
बैठकले निर्वाचनका लागि भयमुक्त वातावरण अपरिहार्य भएको उल्लेख गर्दै फरार कैदीबन्दी नियन्त्रण, हराएका हातहतियार फिर्ता, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा नागरिकलाई सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारलाई जोडदार माग गरेको छ।
त्यस्तै, बैठकले बहुपक्षीय राष्ट्रिय संवादको आवश्यकता औंल्याउँदै विघटित संसदका दलहरू, जेन–जेड पुस्ता, नागरिक समाज, बुद्धिजीवी, व्यापारी, सञ्चारकर्मी लगायत सबै पक्षसँग साझा समझदारी निर्माण गर्न पहल गर्ने निर्णय गरेको छ।
बैठकले जेन–जेड प्रदर्शन तथा पछिल्ला घटनाक्रमको अध्ययन, अनुसन्धान र दस्तावेजीकरण गर्ने निर्णय पनि गरेको छ। अन्त्यमा, मुलुक गम्भीर राजनीतिक संकटमा रहेको भन्दै बैठकले सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा सञ्चारकर्मीलाई संयमता, संवाद र समझदारीको मार्ग अवलम्बन गर्न अपील गरेको छ। नेपाली कांग्रेसको अर्को बैठक २०८२ मंसिर ११ गते बिहीबार दिउँसो २ बजे पुनः बस्नेछ।










