ललितपुर ।शिक्षक हित बचत तथा ऋण सहकारी संस्था (साकोस) ललितपुरको १७औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। साधारणसभाले अध्यक्ष शुक्र थापा, कोषाध्यक्ष रमेश कुमार रिजाल तथा लेखा सुपरिवेक्षण समिति संयोजक जनार्दन आचार्यद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
ज्येष्ठ शेयर सदस्य देवेन्द्र बहादुर प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न सभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति पनि चयन गरेको छ।
निर्वाचन समिति संयोजक गोपालप्रसाद घिमिरेका अनुसार नयाँ नेतृत्वमा पुनः शुक्र थापा (अध्यक्ष – हरिसिद्धि मावि) निर्वाचित भएका छन्।त्यस्तै,उपाध्यक्ष – गिरिप्रसाद तिमल्सिना (बज्रबाराही मावि),सचिव – सुरेन्द्रकुमार घिमिरे (प्रभात मावि),कोषाध्यक्ष – रमेश कुमार रिजाल (रुद्रायणी मावि),सञ्चालकहरूमा देवीप्रसाद दुलाल (प्रभात मावि), ईश्वर सञ्जेल (नारायणी मावि), मन्जु लामा (सिस्नेरी मावि), कविता श्रेष्ठ (पाटन मावि) र सानुमाया लो (सरस्वती आवि) निर्वाचित भएका छन्।
२०६५ मङ्सिर ५ गते स्थापना भएको शिक्षक हित साकोसमा हाल १९३८ शेयर सदस्य रहेका छन् भने सहकारीले करिब ७५ करोड रुपैयाँको कारोबार गर्दै आएको छ।
साधारणसभामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्कृष्ट विद्यार्थी, कक्षा १२ का उत्कृष्ट विद्यार्थी तथा एमफिल उत्तीर्ण गर्ने शेयर सदस्यलाई सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष बाबुराम थापाले समृद्ध नेपाल र सुखी नेपाली निर्माणमा सहकारीको भूमिका अत्यन्त महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
त्यस्तै, कार्यक्रमको समापन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरका अध्यक्ष देवीप्रसाद दुलालले “संस्थाको इमान भनेकै शिक्षकको आर्थिक विकास गर्नु र संगठनको धर्म भनेकै सहकारीको संरक्षण गर्नु” भन्ने आफ्नो धारणा प्रस्तुत गरेका थिए।











