२५ माघ २०८२, शनिबार
Follow us :

पर्शुराम बस्नेतको अगुवाइमा सरकारविरुद्ध एमाले मोरङको सशक्त प्रदर्शन

कान्तिपुर प्रेस

काठमाडौं । नेकपा एमाले मोरङले असंवैधानिक र प्रतिशोधी सरकारविरुद्ध सडकमा उत्रिँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई कडा चेतावनीसहितको ज्ञापनपत्र बुझाएको छ।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित पर्शुराम बस्नेतको अगुवाइमा निकालिएको र्‍यालीसहितको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको थियो। प्रदर्शनकारीहरूले सरकारका कदम संविधानविपरीत रहेको आरोप लगाउँदै तत्काल सच्याउन माग गरेका छन्।

र्‍यालीलाई सम्बोधन गर्दै नेता बस्नेतले वर्तमान सरकार संविधानको मर्म र जनादेशमाथि हमला गरिरहेको आरोप लगाए। उनले संसद् विघटन, लोकतान्त्रिक अभ्यासमाथिको प्रहार र राज्यद्वारा संरक्षण गरिएको हिंसाको भण्डाफोर गर्दै भने, ‘असंवैधानिक सरकार र त्यसका प्रतिशोधी कदमविरुद्ध नेकपा एमाले चुप लागेर बस्दैन। संविधानको रक्षा, संसद् पुनर्स्थापना र भदौ २३ र २४ गते भएको हिंसाका योजनाकार र अपराधीलाई तत्काल कारबाही नगरे जनआन्दोलनलाई थप तीव्र बनाइनेछ।’

बस्नेतले मोरङमा सम्पन्न प्रदर्शन सरकारविरुद्धको चेतावनी मात्र नभई निर्णायक संघर्षको सुरुआत भएको बताए। उनका अनुसार सरकारलाई खबरदारी गर्न आयोजित कार्यक्रममा नेकपा एमाले मोरङसहित सबै जनसंगठनहरू पूर्ण सहभागिताका साथ सडकमा उत्रिएका थिए।

९ पुष २०८२, बुधबार १८:४८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०