नेपालको मौलिक लोक संगीतलाई जोगाउने प्रयासस्वरूप लोकप्रिय गायिका प्रतिमा अर्याल र गायक राम कुमार नेपालीको स्वरमा रहेको “यो चाहिँ पक्का हो” बोलको गीत सार्वजनिक भएको छ। काँठे लोक संगीतमा आफ्नो अमिट छाप राख्न सफल गायिका प्रतिमा अर्यालको आधिकारिक युट्युब च्यानल मार्फत यो गीत रिलिज गरिएको हो।
नेपालमा पछिल्लो समय लोक गीतमा आधुनिकता, बजारवाद, र व्यवसायिकरणको प्रभाव बढ्दै गएको छ। कतिपय कलाकारहरू छिटो लोकप्रियता र आर्थिक लाभका लागि लोक गीतको मौलिकता त्यागेर अश्लीलता र उच्छृङ्खलता भित्र्याउने प्रवृत्तिमा लागेका छन्। यस्तै अवस्थामा ‘यो चाहिँ पक्का हो’ गीतले नेपाली लोक संगीतको मौलिकता जोगाउँदै परम्परागत स्वादलाई पुनर्जीवित गर्ने प्रयास गरेको छ।
लोकप्रिय गायक राम कुमार नेपालीले यस गीतले श्रोताको मन जित्ने दाबी गरेका छन्। उनका अनुसार, “हाम्रो काँठे लोक संगीतको पहिचान फिर्ता ल्याउने सोचले यो गीत तयार पारिएको हो, जुन श्रोताहरूले मन पराउनेमा म पूर्ण विश्वस्त छु।”
लोक गायनमा झण्डै ७ सयभन्दा बढी गीतमा आवाज दिइसकेकी प्रतिमा अर्यालका अधिकांश गीतहरू चर्चित छन्। यस गीतका सहगायक राम कुमार नेपालीले ‘यो चाहिँ पक्का हो’ पनि श्रोतामाझ लोकप्रिय बन्ने विश्वास व्यक्त गरेका छन्।
नेपालभरि हुने मेला, महोत्सव, र स्टेज कार्यक्रमहरूमा अत्यधिक मागमा रहने गायिका अर्यालको यो नयाँ गीतले लोकगीतप्रेमीहरूलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ।
उत्कृष्ट टिम वर्कको परिणाम
गीतको संगीत संयोजन चर्चित गायक राम कुमार नेपालीले गरेका हुन् भने छायांकन राजेश घिमिरेले गरेका छन्। यसका निर्देशक सञ्जीव ठकुरी हुन्, जसले भिडियोमा मौलिकताको सजीव प्रस्तुति दिन सफल भएका छन्।
गीतको रेकर्डिङ मारुनी डिजिटल स्टुडियोमा गरिएको हो भने भिडियोमा चर्चित मोडलहरू सञ्जीव ठकुरी, प्रदीप रोका, अमोन राणा, शुक्र लामा, राज तामाङ, राज मगर, दिपेन्द्र सोनम, रीना थापा मगर, सन्ध्या सानु, बिमला थामी, सञ्जिता भण्डारी, यमुना मगर लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
नयाँ पुस्ताका लागि पनि प्रेरणादायी
काँठे लोक संगीत संरक्षणका लागि महत्वपूर्ण मानिएको ‘यो चाहिँ पक्का हो’ गीतले पुरानो पुस्तालाई लोक संगीतको झल्को दिलाउने र नयाँ पुस्तालाई लोक भाकाप्रति आकर्षित गराउने विश्वास गरिएको छ।