काठमाडौं – प्रतिनिधि सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकलाई संशोधन दर्ता प्रक्रियाका लागि स्वीकृति दिएको छ। आइतबार गणपूरक सङ्ख्या नपुगेर रोकिएको विधेयक सोमबारको बैठकमा स्वीकृत गरिएको हो। अब सांसदहरूलाई विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय दिइनेछ।
सरकारले नागरिकता सम्बन्धी व्यावहारिक समस्याहरू समाधान गर्दै सर्वोच्च अदालतको फैसलासँग अनुरूपता कायम गर्न विधेयक प्रस्ताव गरेको थियो। माघ १५ गते प्रतिनिधि सभामा विधेयक दर्ता गरिएको थियो।
विधेयकका प्रमुख प्रस्तावहरू:
- एकल आमाका सन्तानलाई नागरिकता: बाबुको पहिचान नखुलेका एकल आमाका सन्तानलाई नेपाली नागरिकता प्रदान गरिने।
- वैदेशिक रोजगारीका कारण विदेशमा जन्मिएका नेपाली सन्तानको नागरिकता: विदेशमा रोजगारीको क्रममा रहेका नेपाली आमाबाट विदेशमै जन्मिएका सन्तानले पनि नेपाली नागरिकता प्राप्त गर्ने सुविधा।
- वंशजको नागरिकता:
- बाबु वा आमामध्ये कुनै एकले जन्मका आधारमा नेपाली नागरिकता पाएको भए र अर्कोको नागरिकता प्राप्तिअघि मृत्यु भएमा सन्तानलाई नागरिकता दिने।
- आमा सम्पर्कविहीन रहेका व्यक्तिका सन्तानलाई पनि नागरिकताको हक।
- स्वघोषणाबाट नागरिकता:
- जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा बाबुको नाम भए पनि बाबु सम्पर्कमा नरहेको स्वघोषणा गरेमा आमाकै नामबाट वंशजको नागरिकता प्राप्त गर्ने।
- कुनै व्यक्तिले नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेमा निवेदन दिएर नागरिकता लिन सक्ने।
- नाबालक परिचयपत्र: १६ वर्ष उमेर पूरा नभएका बालबालिकालाई नाबालक परिचयपत्र प्रदान गरिने।
यसैबीच, प्रतिनिधि सभामा राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पनि पेश गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले प्रतिवेदन पेस गरेका हुन्। साथै, राष्ट्रिय सभामा उत्पत्ति भएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक सन्देशसहित टेबुल गरिएको छ।
नागरिकता विधेयकका प्रस्तावित संशोधनहरू नेपाली नागरिकता प्रक्रियालाई सरल, न्यायोचित र व्यवहारिक बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ।