८ भाद्र २०८३, सोमबार
Follow us :

दाइजोकै कारण महोत्तरीमा नवविवाहित युवतीको मृत्यु

दुई महिनामै शिवानीको रहस्यमय मृत्यु

कान्तिपुर प्रेस

महोत्तरीको पिपरा गाउँपालिका–५ मा विवाह भएको दुई महिना नपुग्दै एक युवतीको मृत्यु भएको छ। भारतको सुरसण्ड निवासी २२ वर्षीया शिवानी राउतको मृत्यु दाइजोको निहुँमा ससुराली पक्षले दिएको यातनाका कारण भएको माइती पक्षले आरोप लगाएको छ।

मृतककी आमा रुवी देवीले मोटरसाइकल, सुनलगायत थप दाइजो नदिएको भन्दै छोरीलाई ससुराली पक्षले पटक–पटक शारीरिक तथा मानसिक यातना दिने गरेको बताउनुभएको छ। उहाँका अनुसार शिवानीले भेटका क्रममा आफूलाई दाइजोकै कारण यातना दिने गरिएको गुनासो गरेकी थिइन्।

जलेश्वर नगरपालिका–८, रमौलस्थित मामाघरमा आयोजित मुण्डन कार्यक्रममा सहभागी हुन आएकी रुवी छोरीलाई भेट्न ससुराली पुगेकी थिइन्। त्यहाँ शिवानीले आफूलाई पनि मुण्डन कार्यक्रममा सहभागी गराउन आग्रह गर्न भनेको तर मोटरसाइकल र सुन नदिएसम्म कतै जान नदिने जवाफ ससुराली पक्षबाट आएको रुवीको भनाइ छ।

“दिउँसो करिब २ बजे छोरीलाई भेटेर म फर्किएँ। चार घण्टापछि साँझ छोरीको मृत्यु भएको खबर पाएँ,” रुवीले भन्नुभयो।

रुवीले प्रादेशिक अस्पताल जनकपुरमा शव हेर्दा घाँटीमा निलडाम देखिएको भन्दै ससुराली पक्षले घाँटी थिचेर हत्या गरेको आरोप लगाउनुभएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पति सजन राउत, देवरद्वय प्रेम र निराजन राउत तथा सासू नूतन देवीविरुद्ध जाहेरी परेको छ।

जाहेरीअनुसार शिवानी र सजनबीच २०८३ साल असार १६ गते विवाह भएको थियो। विवाहपछि थप दाइजो र मोटरसाइकल माग गर्दै यातना दिने गरेको आरोप माइती पक्षको छ।

मृतकका मामा दिपुकुमार कापरका अनुसार शिवानीले मृत्यु हुनुअघि श्रीमान्, सासू र देवरबाट कुटपिट तथा घाँटी दबाउनेसम्मको यातना सहनुपरेको बताएकी थिइन्। ससुराली पक्षले भने शिवानीले झुन्डिएर आत्महत्या गरेको दाबी गरेको बताइएको छ।

शवको थप परीक्षणका लागि धरान पठाइएको छ। प्रहरीले घटनामा पति र सासूसहित तीन जनालाई अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जाहेरी प्राप्त भएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

 

८ भाद्र २०८३, सोमबार १२:३९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०