८ भाद्र २०८३, सोमबार
Follow us :

भेरी अस्पतालमा एक वर्षमा ८३ नयाँ एचआइभी संक्रमित

७ हजार ८०५ जनाको परीक्षण, संक्रमितलाई एआरटी सेवा

कान्तिपुर प्रेस

नेपालगञ्जस्थित भेरी अस्पतालमा आर्थिक वर्ष २०८२/८३ को अवधिमा ८३ जना नयाँ एचआइभी संक्रमित पहिचान भएका छन्। अस्पतालले सो अवधिमा ७ हजार ८०५ जनाको एचआइभी परीक्षण गरेको थियो।

अस्पतालका एचआइभी फोकलपर्सन डा. सङ्केतकुमार रिसालका अनुसार परीक्षणका क्रममा एचआइभी संक्रमण पुष्टि भएका सबैलाई शीघ्र एआरटी सेवा उपलब्ध गराइएको छ। एआरटी सेवाले एचआइभी संक्रमितको स्वास्थ्य अवस्था नियन्त्रणमा राख्न तथा संक्रमणबाट हुने जटिलता न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरू बताउँछन्।

भेरी अस्पतालले एचआइभी संक्रमितको पहिचानसँगै नियमित उपचार र परामर्श सेवामा जोड दिएको जनाएको छ। संक्रमितले उपचारलाई निरन्तरता दिने वातावरण निर्माण गर्नुका साथै संक्रमण फैलिन नदिन आवश्यक सचेतना र रोकथामका कार्यक्रमलाई समेत प्राथमिकता दिइएको अस्पतालको भनाइ छ।

अस्पतालका अनुसार आमाबाट शिशुमा एचआइभी संक्रमण सर्ने सम्भावना न्यूनीकरणका लागि पनि आवश्यक सेवा तथा परामर्श प्रदान भइरहेको छ। गर्भवती महिलाको समयमै परीक्षण, संक्रमण पहिचान र आवश्यक उपचारमार्फत शिशुमा संक्रमण सर्ने जोखिम घटाउन सकिने भएकाले यसतर्फ विशेष ध्यान दिइएको अस्पतालले जनाएको छ।

एचआइभी संक्रमितको समयमै पहिचान गरी नियमित उपचारमा ल्याउन सके उनीहरूको जीवनस्तर सुधार गर्न र संक्रमणको जोखिम घटाउन सहयोग पुग्ने चिकित्सकहरूको भनाइ छ। भेरी अस्पतालले परीक्षण, उपचार, परामर्श तथा रोकथामका सेवाहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

 

८ भाद्र २०८३, सोमबार १२:४३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०