काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्यले अब गति लिएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजनालाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा लिइएको छ, जुन केवल भौतिक पूर्वाधार होइन, रणनीतिक सम्पर्क र समावेशी विकासको संकेत पनि हो।
विगतमा नीतिगत अन्योल, भौगोलिक चुनौती र जग्गा अधिग्रहण जस्ता समस्याले निर्माण प्रक्रिया रोकिएको थियो। खासगरी राजधानीको खोकना क्षेत्रदेखि तराईसम्मको भू-भागमा पर्ने भूगोल, सुरुङ निर्माणको प्राविधिक जटिलता, र प्रभावित समुदायसँगको समन्वय अभावले काममा ढिलाइ भयो। यद्यपि, पछिल्लो वर्ष यिनै अवरोधहरूमाथि सहमति र समाधान खोजिँदै कामलाई तीव्र पारिएको छ।
२०८२ असार मसान्तसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४४ प्रतिशत (मोबिलाइजेसन सहित) रहेको छ। १३ वटा निर्माण प्याकेजमध्ये अधिकांश प्याकेजहरू कार्यान्वयनमा छन्। खोकना–डुकुछाप खण्डमा भने अझै जग्गा अधिग्रहण र सुरु बिन्दु व्यवस्थापनमा समन्वय आवश्यक देखिन्छ। अहिलेसम्म कुल खर्च ८० अर्ब ५४ करोड रुपैयाँ पुगेको छ, जसमा जग्गा खरिद, निर्माण व्यवसायी तथा विद्युत् प्राधिकरणलाई दिइएका पेश्की समावेश छन्।
सडक निर्माणको दृष्टिले नमूना मानिएको लेनडाँडा खण्डमा काम उल्लेखनीय रूपमा अघि बढेको छ। पुल, सुरुङ र कलभटहरूको निर्माण प्रगति आशाजनक छ। ३३३ मिटर लम्बाइको पहिलो पुलमा सवारी साधन चल्न थालिसकेको छ, जसले शारीरिक होइन, मनोवैज्ञानिक रूपमा पनि आम जनतालाई आयोजनाप्रति विश्वास दिलाएको छ।
यो आयोजना केवल भौतिक सञ्जालको विस्तार होइन। यसले देशको सामरिक पहुँच, आर्थिक गतिविधि, र भूगोलको समावेशी एकीकरणमा ठूलो भूमिका खेल्नेछ। राजधानीसँग सीमावर्ती तराईलाई प्रत्यक्ष रूपमा जोड्ने छोटो मार्गले व्यापार, आपूर्ति, सुरक्षा र आपतकालीन सेवामा दूरगामी प्रभाव पार्नेछ।
तर निर्माणको गति मात्र होइन, गुणस्तर, पारदर्शिता र सामाजिक सम्वेदनशीलता पनि उत्तिकै महत्त्वपूर्ण छन्। सेना वा अन्य निकायमार्फत सञ्चालन भइरहेका ठूला आयोजना प्रभावकारी तब मात्र मानिन्छन्, जब त्यहाँ सार्वजनिक निगरानी, प्रभावितको सहभागिता र स्थानीय हितको सम्मान सुनिश्चित गरिन्छ।
निर्माणको यो गति कायम राख्दै समयमै सम्पन्न भएमा काठमाडौं–तराई/मधेश द्रुतमार्गले नेपालका पूर्वाधार परियोजनाहरूको सफल मोडेल पेश गर्नेछ। राष्ट्रले दशकौँदेखि पर्खिएको ‘विकासको राजमार्ग’ अब सम्भावनाबाट यथार्थमा रूपान्तरण हुँदैछ।











