दक्षिण ललितपुर, २८ फागुन ।ललितपुरको महाङ्काल गाउँपालिका वडा नं. ३, गोटिखेल वडा कार्यालयले सामाजिक सञ्जालमा प्रसारित तथ्यहीन र भ्रामक समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘genz mahankhal South-Lalitpur News and Events’ लगायतका फेसबुक पेजहरूले सार्वजनिक पदमा आसिन व्यक्तिहरूको चरित्र हत्या गर्ने मनसायले कपोकल्पित समाचार फैलाएको भन्दै वडा अध्यक्ष मनोज कुमार पराजुलीले एक प्रेस विज्ञप्ति जारी गरी आपत्ति जनाउनुभएको हो।
विज्ञप्तिमा उल्लेख भएअनुसार, आर्थिक वर्ष २०८०/८१ को कालेश्वर सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट कुनै पनि बजेट विनियोजन भएको छैन। तर, सामाजिक सञ्जालमा भने बजेट दुरुपयोग भएको भन्दै भ्रामक हल्ला फैलाइएको वडा कार्यालयको दाबी छ।
वडा अध्यक्ष पराजुलीका अनुसार, ‘गोटिखेल जप्का देउराली मोटरबाटो स्तरोन्नति’ शीर्षकमा महाङ्काल गाउँपालिकाको आन्तरिक स्रोतबाट २५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। उक्त कार्यक्रम कार्यान्वयनका लागि हालसम्म कुनै पनि उपभोक्ता समिति गठन नभएको र सो शीर्षकबाट एक रुपैयाँ पनि खर्च नभएको विज्ञप्तिमा स्पष्ट पारिएको छ। उक्त सडकको स्तरोन्नति कार्य गाउँपालिकाकै आफ्नै स्रोत र साधन प्रयोग गरी सम्पन्न गरिएको समेत जानकारी दिइएको छ।
वडा कार्यालयले सत्यतथ्य नबुझी यस्ता अप्रमाणित सामग्री प्रकाशन र प्रसारण नगर्न आग्रह गर्दै, भ्रम फैलाउने कार्य नरोकिएमा कानुनी उपचार खोज्न बाध्य हुने चेतावनी समेत दिएको छ।












