१० भाद्र २०८३, बुधबार
Follow us :

भोटेकोशी बाढीमा बागमतीका पाँच जिल्लामा ५५ शव फेला

चितवनमा १८ र धादिङमा १६ जनाको शव भेटियो

कान्तिपुर प्रेस

काठमाडौं, भदौ १० गते । तिब्बतबाट आएको भोटेकोशी नदीको बाढीका कारण बागमती प्रदेशका विभिन्न जिल्लामा ५५ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बुधबार साँझ ६ बजेसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखामा ती शव फेला परेका हुन्।

प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार फेला परेका शवमध्ये २२ जना महिला र ३१ जना पुरुष छन्। दुई जनाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

जिल्लागत रूपमा रसुवामा एक, नुवाकोटमा ११, धादिङमा १६, चितवनमा १८ र गोरखामा नौ जनाको शव फेला परेको छ। बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता तथा मृतकको खोजी जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट ९३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। रसुवाबाट ४३, नुवाकोटबाट ४७ र धादिङबाट तीन जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये छ जनालाई काठमाडौं, ३६ जनालाई धुन्चे र एक जना सामान्य घाइतेलाई नुवाकोटमा उपचारका लागि लगिएको छ। एक जनाको शव काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

खोजीका क्रममा धादिङमा हात र खुट्टा मात्र भएका दुईवटा तथा चितवनमा हातखुट्टा मात्र भएका १० वटा अङ्गसमेत फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शव तथा अङ्गको पहिचान र मुचुल्का उठाउने काम भइरहेको छ।

भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार कार्य जारी राखेका छन्। प्रहरीले बेपत्ता तथा मृतकको विवरण संकलनसँगै फेला परेका शवको पहिचान गर्ने कार्यलाई पनि अघि बढाएको जनाएको छ।

बाढीका कारण सडक, पुल तथा नदी आसपासका बस्तीमा समेत ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी अभियानलाई थप तीव्र बनाइएको प्रहरीले जनाएको छ।


१० भाद्र २०८३, बुधबार १९:५६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०