१२ भाद्र २०८३, शुक्रबार
Follow us :

बाढीको जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान रोकियो

सयौँ बेपत्ता, १ हजारभन्दा बढी सुरक्षित स्थानमा

कान्तिपुर प्रेस

काठमाडौं — चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ। पहिरो गएको दुई दिनपछि सयौँ व्यक्ति बेपत्ता रहेका बेला उद्धार टोलीलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा फर्काइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

चिनियाँ सरकारी प्रसारक सिसिटिभीका अनुसार पहिरोपछि बनेको विशाल तालको पानी उद्धार टोली परिचालित क्षेत्रमा फैलिन थालेपछि तत्काल खोज तथा उद्धार रोक्न निर्देशन दिइएको हो। प्रभावित क्षेत्रमा प्रवेश गरिसकेका आपत्कालीन टोलीलाई समेत करिब एक किलोमिटर पछाडि हटाइएको जनाइएको छ।

बुधबार तिब्बतको सीमावर्ती केन्द्र ग्यिरोङमा माटो र भग्नावशेष खसेपछि पानी थुनिएर ठूलो ताल बनेको थियो। लगातार वर्षा भइरहेकाले आगामी तीन दिनमा तालको जलस्तर थप बढ्न सक्ने अनुमान गरिएको छ।

जलस्तर बढ्दै जाँदा तालमा दरार पर्न सक्ने र त्यसबाट तल्लो क्षेत्रमा बाढी पस्न सक्ने जोखिम रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। यस्तो अवस्था आए ग्यिरोङ बन्दरगाहलगायतका क्षेत्रमा थप क्षति हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

शुक्रबारसम्म विपद् प्रभावित क्षेत्रबाट ४९९ चिनियाँ र ५५५ विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। उद्धारकर्मीले ड्रोनबाट तयार गरिएको थ्रीडी मोडल, तापीय तस्बिर प्रविधि तथा म्यानुअल खोजीमार्फत बेपत्ताको खोजी गरिरहेका छन्।

आपत्कालीन इन्जिनियरिङ टोलीले तालको अवस्था निरन्तर निगरानी गरिरहेको छ। बाढीको जोखिम कम भएपछि खोज तथा उद्धार अभियान पुनः सञ्चालन गरिने अपेक्षा गरिएको छ।

 

१२ भाद्र २०८३, शुक्रबार १२:४८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०