काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव हटाउन ग्यास उद्योगीहरू सक्रिय भएका छन्।
नेपाल आयल निगमले उपत्यकाबाहिर रहेका ग्यास उद्योगमा ग्यास ‘बोटलिङ’ गरी भरिएका सिलिन्डर काठमाडौं ल्याउन अनुमति दिएपछि उद्योगीहरूले वैकल्पिक व्यवस्थामार्फत ग्यास आपूर्ति सहज बनाउन थालेका हुन्।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी तथा संघका सदस्य विमल कालाखेतीलगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी खाली सिलिन्डर ओसारपसार तथा भरिएका सिलिन्डर उपत्यका ल्याउने व्यवस्था सहज बनाउन पहल गरिरहेका छन्।
संघका पूर्वअध्यक्ष भण्डारीका अनुसार उपत्यकाबाहिर रहेका ग्यास उद्योगमा पर्याप्त खाली सिलिन्डर छैनन्। त्यसैले काठमाडौं उपत्यकामा खाली भएका सिलिन्डर ट्रकमार्फत बाहिरका उद्योगसम्म पुर्याएर त्यहीँ ग्यास भरी पुनः काठमाडौं ल्याउनुपर्ने अवस्था आएको छ।नेपाल ग्यासका सञ्चालकसमेत रहेका भण्डारीका अनुसार नेपाल ग्यासका सिलिन्डर चितवनस्थित नेपाल ग्यास गण्डकीमा लगेर ‘बोटलिङ’ गर्ने काम भइरहेको छ।
दैनिक ८ देखि १० हजार सिलिन्डर काठमाडौं ल्याउने तयारी
सिलिन्डरको अभावका कारण मागअनुसार ग्यास भर्न नसकिएको उद्योगीहरूले बताएका छन्। नेपाल ग्यासले सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक करिब ११ हजार सिलिन्डर बिक्री गर्दै आएको छ।
तर, अहिले आपूर्ति प्रभावित भएपछि वैकल्पिक व्यवस्थामार्फत दैनिक ८ देखि १० हजार सिलिन्डर काठमाडौं ल्याउने तयारी भइरहेको भण्डारीले बताएका छन्।संघका सदस्य विमल कालाखेतीका अनुसार अन्य ग्यास उद्योगले पनि काठमाडौंमा रहेका खाली सिलिन्डर ट्रकमार्फत उपत्यकाबाहिर लगेर त्यहाँ ग्यास भरी पुनः काठमाडौं ल्याउन थालेका छन्।
यद्यपि, रातको समयमा कान्ति लोकपथमा मालवाहक गाडी सञ्चालनमा समस्या हुँदा खाली सिलिन्डर बोकेका ट्रक सम्बन्धित उद्योगसम्म पुग्न ढिलाइ भइरहेको उद्योगीहरूको भनाइ छ।वैकल्पिक व्यवस्थाअनुसार विभिन्न उद्योगले एकअर्काका सिलिन्डरमा समेत ग्यास भरेर काठमाडौं पठाउन थालेका छन्। बाबा ग्यासले श्री ग्यासका सिलिन्डरमा ग्यास भरेर पठाएको छ। श्री ग्यास नौबिसेमा रहेको उद्योग हो।
त्यस्तै, यहाँको साईबाबा ग्यासले आफ्नै सिलिन्डर काठमाडौं पठाएको जनाइएको छ। गैंडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम ग्यास, हेटौँडाको साहारा ग्यासमा काठमाडौंको एभरेष्ट र सुगम ग्यासका सिलिन्डरमा ग्यास भरेर पठाइएको छ।
वनेपाको सगरमाथा ग्यासले परासीस्थित चण्डी ग्यास उद्योगमा ग्यास भरेर सिलिन्डर पठाइरहेको छ। वनेपाका लोकप्रिय, सुपर तथा तारा ग्यासलगायत उद्योगले पनि राजधानीबाहिरका विभिन्न ग्यास उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन्।संघका सदस्य कालाखेतीका अनुसार काठमाडौं उपत्यका र आसपासका जिल्लामा मात्रै करिब १६ वटा ग्यास उद्योग रहेका छन्।
माग बढेपछि आपूर्ति व्यवस्थापनमा दबाब
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्छ।
तर, पछिल्लो अवस्थाले गर्दा माग अझ बढ्न सक्ने भएकाले आपूर्ति व्यवस्थापनमा उद्योगीमाथि थप दबाब परेको छ। अहिलेको अवस्थामा दैनिक एक लाख सिलिन्डरसम्म खपत हुने अवस्था आउन सक्ने अध्यक्ष चन्दको भनाइ छ।
यद्यपि, वैकल्पिक मार्ग तथा उपत्यकाबाहिरका उद्योग प्रयोग गरेर ग्यास भर्ने व्यवस्था सुरु गरिएकाले केही दिनमै समस्या समाधान हुने उनको विश्वास छ।
उद्योगीहरूका अनुसार एउटा ग्यास बोक्ने बुलेटमा करिब ४५० सिलिन्डर बराबरको ग्यास आउँछ। ठूलो ट्रकले भरिएका करिब ५०० सिलिन्डर बोक्न सक्छ भने खाली अवस्थामा त्यही ट्रकले करिब ६०० सिलिन्डरसम्म बोक्न सक्ने बताइएको छ।
नेपालमा रहेका ५८ वटा ग्यास उद्योगबाट उत्पादन हुने ग्यासमध्ये करिब ४० प्रतिशत काठमाडौं उपत्यकामा खपत हुने गरेको संघले जनाएको छ। त्यसैले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा उपत्यकाको ग्यास आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको हो।
साल्ट ट्रेडिङले पनि निजी उद्योगसँग सहकार्य गर्दै
यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पनि खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन निजी ग्यास कम्पनीसँग सहकार्य सुरु गरेको छ।
कर्पोरेशनले आफ्ना ‘एसटीसी सिलिन्डर’मा निजी ग्यास कम्पनीका प्लान्टमार्फत ग्यास भरेर काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो।
धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेपछि गत आइतबारदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध भएपछि साल्ट ट्रेडिङको धादिङ जुगेखोलास्थित एलपीजी प्लान्टमा समेत ग्यास आपूर्तिमा असर परेको छ।
आफ्नो प्लान्टमा ग्यास बोकेका बुलेट आउन सम्भव नभएपछि साल्ट ट्रेडिङले तत्कालका लागि सहज स्थानमा रहेका निजी ग्यास उद्योगसँग सहकार्य गरेर आफ्ना खाली सिलिन्डरमा ग्यास भर्ने र वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो।
कर्पोरेशनले मनोज र बाबा ग्यासका प्लान्टसँग सहकार्य गरी आफ्ना सिलिन्डरमा ग्यास भर्ने व्यवस्था मिलाएको जनाएको छ।
तर, नेपाल आयल निगमबाट साल्ट ट्रेडिङले पाउने ग्यासको कोटा अर्थात् ‘पीडीओ’ न्यून भएकाले चाहेजति ग्यास बिक्री गर्न नसकिएको जनाइएको छ।
निगमले भारतीय आयल कर्पोरेसनबाट कुल ३ हजार २५ वटा ग्यास बुलेटका लागि सम्झौता गरेकोमा त्यसको करिब दुई प्रतिशत अर्थात् ५३ वटा बुलेट बराबरको हिस्सा मात्र साल्ट ट्रेडिङको भागमा परेको जनाइएको छ।
साल्ट ट्रेडिङले हाल मासिक करिब ५५ हजारदेखि ६० हजार एसटीसी सिलिन्डर खपत गरिरहेको जनाएको छ।
पृथ्वी राजमार्गमा देखिएको अवरोधका कारण काठमाडौं उपत्यकाको ग्यास आपूर्तिमा तत्काल समस्या देखिए पनि उद्योगी तथा साल्ट ट्रेडिङले उपत्यकाबाहिरका उद्योग प्रयोग गरी वैकल्पिक मार्गबाट सिलिन्डर ल्याउने व्यवस्था थालेका छन्। उद्योगीहरूका अनुसार यो वैकल्पिक आपूर्ति प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सके केही दिनमै उपत्यकामा देखिएको ग्यास अभाव क्रमशः हट्ने अपेक्षा गरिएको छ।












