नारायणगढ, भदौ २१ । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि उपत्यकाबाहिरका जिल्लाबाट दैनिक औसत ३५ हजार सिलिन्डर ग्यास पठाउन थालिएको छ।पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरलगायत विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि ग्यास बुलेट काठमाडौंसम्म पुग्न नसक्ने अवस्था आएपछि उद्योगीले वैकल्पिक उपाय अपनाएका हुन्। अहिले चितवन, मकवानपुर, बारा, पर्सालगायतका जिल्लामा सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौं पठाउने व्यवस्था मिलाइएको छ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार उपत्यकामा ग्यासको अभाव कम गर्न उपत्यकाबाहिर रहेका उद्योगबाट सिलिन्डर भरेर काठमाडौं पठाउने गरिएको छ।उहाँका अनुसार बिहीबार २४ हजार र शुक्रबार ३४ हजार सिलिन्डर काठमाडौं पठाइएको थियो। शनिबार पनि करिब ३५ हजार सिलिन्डर काठमाडौं पुगेको उहाँले जानकारी दिनुभयो।
नेपाल आयल निगमले उपत्यकाबाहिरका उद्योगबाट सिलिन्डर भरेर काठमाडौं ल्याउन अनुमति दिएपछि बिहीबारदेखि नै वैकल्पिक मार्गबाट ग्यास ढुवानी सुरु गरिएको संघले जनाएको छ।यस प्रक्रियाअनुसार काठमाडौंमा खाली भएका सिलिन्डरलाई ट्रकमार्फत उपत्यकाबाहिरका उद्योगसम्म पुर्याइन्छ। उद्योगमा ग्यास भरेपछि त्यही ट्रकमार्फत भरिएका सिलिन्डर पुनः काठमाडौं ल्याउने गरिएको अध्यक्ष चन्दले बताउनुभयो।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार अहिले चितवन, नवलपुर, बारा, पर्सा, धनुषा र मकवानपुरमा रहेका विभिन्न उद्योगबाट सिलिन्डरमा ग्यास भरेर काठमाडौं पठाउने गरिएको छ।चितवनमा नेपाल, एचपी, त्रिवेणी, बाबा, श्री र साईबाबा ग्यास उद्योगबाट सिलिन्डर भरिने गरिएको छ। नवलपुरको गैँडाकोटमा जानकी र श्रीराम ग्यासबाट ग्यास भर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, बारा र पर्सामा सीताश्री, श्रीमाया र लियो ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाडौं पठाइन्छ। हिमाल र सगर ग्यासले पर्सा तथा धनुषाबाट ग्यास भर्ने गरेका छन्। एभरेस्ट र सुगम ग्यास उद्योगले हेटौँडाबाट सिलिन्डर भरेर काठमाडौं पठाउने गरेका छन्।
बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार चितवनमा रहेका उद्योगबाट ग्यास भरेर सिलिन्डर काठमाडौं पठाउने गरिएको छ।उहाँका अनुसार चितवनमा उपलब्ध उद्योगको क्षमता प्रयोग गरी काठमाडौंको माग पूरा गर्न सहयोग भइरहेको छ।
साल्ट ट्रेडिङले पनि वैकल्पिक प्लान्टबाट ग्यास भराउँदै
सरकारको समेत लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि आफ्ना एसटिसी सिलिन्डरमा निजी ग्यास उद्योगका प्लान्टबाट ग्यास बोटलिङ गरी काठमाडौं पठाउन थालेको छ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि धादिङको जुगेखोलास्थित साल्ट ट्रेडिङको एलपीजी प्लान्टसमेत प्रभावित भएको छ। आफ्नो प्लान्टमा ग्यास बोकेका बुलेट आउन नसकेपछि कर्पोरेसनले तत्कालका लागि सहज स्थानमा रहेका निजी क्षेत्रका ग्यास प्लान्टसँग सहकार्य गरेको जनाएको छ।
कर्पोरेसनले मनोज र बाबा ग्यासका प्लान्टसँग सहकार्य गरी आफ्ना खाली सिलिन्डरमा ग्यास भर्ने र वैकल्पिक मार्गबाट काठमाडौं उपत्यका पुर्याउने व्यवस्था मिलाएको जनाएको छ।
सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेको छ। हाल वैकल्पिक व्यवस्थामार्फत दैनिक औसत ३५ हजार सिलिन्डर काठमाडौं पुग्न थालेकाले मागअनुसार आपूर्ति गर्न सकिने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष चन्दको भनाइ छ।
वैकल्पिक ढुवानीका कारण ग्यासको मूल्य बढ्यो
नेपाल आयल निगमले वैकल्पिक मार्गबाट बाहिरी जिल्लामा ग्यास भरेर काठमाडौं ल्याइने सिलिन्डरको बिक्री मूल्य साबिकभन्दा १०५ रुपैयाँ ३८ पैसा बढी निर्धारण गर्न अनुमति दिएको छ।साबिकमा प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा बिक्री हुँदै आएको एलपी ग्यासको मूल्य अहिले २ हजार १६५ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।सडक अवरुद्ध भएपछि ग्यास बुलेटमार्फत नियमित ढुवानी प्रभावित भएको अवस्थामा खाली सिलिन्डर उपत्यकाबाहिर पुर्याएर पुनः ग्यास भरेर काठमाडौं ल्याउनुपर्ने भएकाले थप ढुवानी लागत बढेको उद्योगीले बताएका छन्।वैकल्पिक मार्ग र बाहिरी जिल्लाका उद्योग प्रयोग गरी ग्यास आपूर्ति जारी राखिएपछि उपत्यकामा देखिएको अभाव क्रमशः कम हुने उद्योगीको अपेक्षा छ।











