२१ भाद्र २०८३, आईतवार
Follow us :

 कांग्रेस सभापति गगन थापाको अन्तिम दौडधुप, देउवासँग पनि संवादको तयारी

कांग्रेसले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ।

कान्तिपुर प्रेस

काठमाण्डाै ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रको विवाद निर्णायक मोडमा पुगेको छ। महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टीभित्रको विवाद चर्किएको छ। एकातिर सभापति गगन थापा सहमति खोज्न दौडधुपमा छन्। अर्कोतिर शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गरिसकेको छ। यही अवस्थामा सभापति गगन थापाले असन्तुष्ट नेताहरूसँगको भेटवार्ता तीव्र बनाएका छन्।

वडा अधिवेशन सुरु हुनुअघि नै विवाद समाधान गर्ने उद्देश्यसहित थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन्। शनिबार साँझ भएको खड्कासँगको भेटलाई सकारात्मक रूपमा लिइएको छ। त्यसपछि आइतबार बिहान सभापति थापा नेता शेखर कोइरालालाई भेट्न पुगे। शेखर कोइराला र पूर्णबहादुर खड्का दुवै गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्। तर कांग्रेसभित्रको विवाद यतिमै रोकिएको छैन।

कांग्रेसले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ। तर संस्थापनइतर पक्षसँग सहमति जुटे वडा अधिवेशनको मिति असोज २ गतेसम्म सार्न सकिने सम्भावना पनि रहेको बताइएको छ।

सबैभन्दा ठूलो चुनौती भने देउवा पक्षबाट देखिएको छ। विशेष महाधिवेशनमा सहभागी नभएको शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि अघि बढाइसकेको छ।त्यति मात्रै होइन- देउवा पक्षले छुट्टै महाधिवेशनको कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ।

यसले कांग्रेसभित्र विवाद केवल नेतृत्वको असन्तुष्टिमा सीमित नरहेको संकेत गरेको छ। अब सभापति गगन थापाका लागि अर्को महत्वपूर्ण भेट बाँकी छ- निवर्तमान सभापति शेरबहादुर देउवासँग । थापाले देउवासँग पनि भेटवार्ता गर्ने तयारी गरेका छन्। यदि देउवा पक्षसँग सहमति जुट्यो भने कांग्रेसभित्रको अहिलेको संकट केही हदसम्म टर्न सक्छ।

तर सहमति जुट्न सकेन भने ? कांग्रेसको महाधिवेशन प्रक्रिया नै थप विवादित बन्न सक्ने जोखिम छ। त्यसमाथि विशेष महाधिवेशनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। अर्थात् कांग्रेस अहिले एकैपटक पार्टीभित्रको राजनीतिक विवाद, महाधिवेशनको कार्यतालिका र अदालतमा विचाराधीन मुद्दा—तीनवटा मोर्चाको दबाबमा छ। शेखर कोइरालासँगको संवादपछि अब देउवासँगको भेट कस्तो हुन्छ भन्नेमा कांग्रेसभित्र मात्रै होइन, नेपाली राजनीतिक वृत्तमै चासो बढेको छ।

कांग्रेसको महाधिवेशन नजिकिँदै छ। तर महाधिवेशनभन्दा अगाडि नै पार्टीभित्रको विवादको फैसला हुन्छ कि हुँदैन—त्यो भने अबका केही दिनले देखाउनेछ। गगन थापाको यो दौडधुप साँच्चै एकताको अन्तिम प्रयास हो, कि कांग्रेसभित्र अर्को ठूलो राजनीतिक अध्याय सुरु हुँदैछ त्याे भने हेर्न बाकीँ छ ।

२१ भाद्र २०८३, आईतवार १६:२४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०