काठमाडौँ । करिब तीन महिनापछि सर्वसाधारणका लागि नयाँ प्राथमिक सेयर (आईपीओ) खुलेको छ। सोमबारदेखि बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामूहिक लगानी कोषका लागि सेयर छुट्याएपछि बाँकी ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आईपीओमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले अनलाइन प्रणाली ‘मेरो सेयर’ तथा सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखामार्फत आवेदन दिन सक्नेछन्।
यसअघि जेठ २८ गते सर्वोत्तम पेन्ट्सको आईपीओ सर्वसाधारणका लागि खुलेको थियो। त्यसयता सर्वसाधारणका लागि नयाँ आईपीओ निष्कासन भएको थिएन।
लामो समयपछि नयाँ आईपीओ खुलेसँगै प्राथमिक बजारमा लगानीकर्ताको चासो बढ्ने अपेक्षा गरिएको छ। आईपीओमा आवेदन दिने लगानीकर्ताको संख्या र मागअनुसार निष्कासन हुने सेयरको बाँडफाँट प्रक्रिया अघि बढ्नेछ।











