काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्न सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण अनिवार्य रहेको बताएका छन्।
बुधबार दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि यिनै आधारभूत मूल्य स्थापित गर्नु रहेको बताए।
उनले तीनै तहका सरकारले जनताले राखेका अपेक्षा पूरा गर्न गम्भीरतापूर्वक काम गर्ने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गरे।
उनका अनुसार प्रशासकीय भवन केवल भौतिक संरचना मात्र होइन, जनताले सेवा प्राप्त गर्ने विश्वासको केन्द्र, लोकतान्त्रिक शासन व्यवस्थाको स्थानीय आधारस्तम्भ र नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने सार्वजनिक संस्थाको प्रतीक पनि हो।
उनले नयाँ भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बन्नुपर्नेमा जोड दिए।
प्रशासकीय भवन आधुनिक हुँदैमा मात्र पर्याप्त नहुने उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रशासनिक कार्यशैली पनि आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुनुपर्ने बताए।
उनले सूचना प्रविधिको अधिकतम प्रयोग, अभिलेख व्यवस्थापन, डिजिटल सेवा प्रवाह र गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।
यसैगरी, राष्ट्रपति पौडेलले दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए। उनले स्थानीय तहले यसतर्फ विशेष ध्यान दिनुपर्ने सुझावसमेत दिए।











