काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन्। सरकारले उनलाई आईजीपी नियुक्त गरेसँगै प्रहरी संगठनको नेतृत्व परिवर्तन हुने भएको छ।
मन्त्रिपरिषद् स्रोतका अनुसार हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। यससँगै कार्की प्रहरी नेतृत्वबाट बाहिरिने भएका छन्।
नेपाल प्रहरीमा आईजीपी परिवर्तनसँगै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने अभ्यास यसअघि पनि देखिएको छ। सरकारले विगतमा अच्युतकृष्ण खरेललाई आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो। तर, दरबन्दी नभएको स्थानमा सरुवा गरिएको भन्दै खरेल सर्वोच्च अदालत पुगेका थिए। अदालतबाट मुद्दा जितेपछि उनी पुनः आईजीपी बनेका थिए। त्यसपछि सरकारले ध्रुवबहादुर प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो।
त्यस्तै, सुडान घोटाला प्रकरणमा मुछिएपछि तत्कालीन आईजीपी रमेश चन्द ठकुरीलाई पनि प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएको थियो। उनको स्थानमा रवीन्द्रप्रताप शाहलाई प्रहरी महानिरीक्षक बनाइएको थियो।
केसीको नियुक्तिसँगै नेपाल प्रहरीको नेतृत्वमा नयाँ कार्यकाल सुरु हुने भएको छ। प्रहरी संगठनको आन्तरिक व्यवस्थापन, अपराध अनुसन्धान र सुरक्षा चुनौतीबीच नयाँ नेतृत्वको कार्यसम्पादनलाई चासोका साथ हेरिएको छ।











