काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको घरसम्म पुर्याइने भएको छ। यसका लागि त्रिवि र नेपाल सरकारको हुलाक सेवा विभागबीच सम्झौता भएको छ।
सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने प्रमाणपत्र विद्यार्थीको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत सुरक्षित रूपमा उनीहरूसम्म पुर्याइनेछ।
कुल २२ बुँदामा समेटिएको सम्झौताअनुसार प्रमाणपत्र तथा अन्य कागजात व्यवस्थित रूपमा ढुवानी र वितरण गर्न हुलाक वस्तु ट्र्याकिङ बारकोडसहितको पीआईटीएस प्रणालीमा दर्ता गरिनेछ। यसबाट कागजात सही ठेगानामा पुगेको वा नपुगेको अनुगमन गर्न सहज हुनेछ।
कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा रजिस्ट्रार डा. शिवाकोटीले विश्वविद्यालयका सेवा हुलाकसँग जोडेर विद्यार्थीको घरदैलोसम्म पुर्याउने लामो समयदेखिको योजना पूरा भएकोमा खुसी व्यक्त गरे।
हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले हुलाक सेवा नागरिक र राज्यलाई जोड्ने सशक्त माध्यम भएको बताउँदै त्रिविको यस कदममार्फत नागरिकलाई घरघरमै सेवा पुर्याउने जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरिन्।










