धापाखेल, ललितपुर/ ललितपुर महानगरपालिका वडा नं. २३ स्थित धापाहाइट विकास समाजको आयोजनामा शनिबार एक बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्थानीय जनसरोकार र सामाजिक कार्यमा सक्रिय यस समाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको हो। धापाहाइट परिसरमा सञ्चालन भएको उक्त कार्यक्रममा ७० जना स्थानीय बासिन्दाहरूले उत्साहजनक रूपमा रक्तदान गरेको संस्थाका अध्यक्ष सरोज निरौलाले जानकारी दिनुभयो। मानव सेवाको उत्तम कार्यमा सहभागी हुने सबै रक्तदाताहरूलाई समाजको तर्फबाट प्रशंसापत्र समेत वितरण गरिएको थियो।कार्यक्रमलाई बिएनबी हस्पिटल, ब्लड बैंकले प्राविधिक सहयोग गरेको थियो ।

सक्रियताको पर्याय धापाहाइट विकास समाज धापाखेल क्षेत्रकै सबैभन्दा सक्रिय सामाजिक संस्थाको रूपमा चिनिने धापाहाइट विकास समाज स्थानीय पूर्वाधार निर्माण र विकासका काममा निरन्तर क्रियाशील रहँदै आएको छ। “समाजभित्र बसोबास गर्ने बासिन्दाहरूबीचको प्रगाढ एकता र आपसी सद्भाव नै हाम्रो सफलताको मुख्य कडी हो,” अध्यक्ष निरौलाले बताउनुभयो।

सामाजिक कार्यमार्फत स्थानीय स्तरमा सकारात्मक प्रभाव पार्न सफल यस समाजले आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कामहरूलाई निरन्तरता दिने लक्ष्य राखेको छ।












