ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवमा रहेको फूल्चोकी माध्यमिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले जिम्मेवार अभिभावक जिम्मेवार विद्यालय भन्ने मुख्य आदर्शलाई पूरा गर्न सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरेको हो। शिक्षा विकास निर्देशनालय हेटौँडाको सहकार्यमा आयोजित उक्त कार्यक्रमको प्रमुख सहजीकरण गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव मानबहादुर खड्काले गर्नुभएको थियो। उहाँले सहजीकरणमा अभिभावकको उत्तरदायित्व, अभिभावकले विद्यालयप्रति खेल्नुपर्ने भूमिका, आफ्ना बालबालिकालाई दिनुपर्ने नैतिकज्ञान लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक गोपालकुमार पाण्डेले अध्यक्षता गर्दै आफूहरू विद्यालयलाई हरेक कुरामा जिम्मेवार बनाउन र व्यवहारिक शिक्षा प्रदान गर्न निरन्तर लागेको बताउनु भयो ।सम्पन्न कार्यक्रममा करिब १५०जना अभिभावकको सहभागिता रहेको थियो।

अभिभावक शिक्षा कार्यक्रमलाई बहुउपयोगी बनाउन कार्यक्रमको योजना तयार पारिरहेको विद्यालयका शैक्षिक योजना संयोजक तथा कार्यक्रम संयोजक नवराज सञ्जेलले जानकारी दिनुभयो ।कार्यक्रममा अधिकांश अभिभावकले आफना नानीबाबुहरू असल नागरिक भएको हेर्न चाहेको बताउनु भएको थियो।











