८ बैशाख २०८३, मंगलवार
Follow us :

आत्मसमीक्षा र नेतृत्व हस्तान्तरण नै सुधारको विकल्प : चन्द्र भण्डारी

कान्तिपुर प्रेस

काठमाडौँ– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने साहस नै दलहरुको सुधारको सही बाटो हुने बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत विगतका गल्तीहरूको आत्मसमीक्षा गर्दै जनतासँग माफी मागेर नयाँ पुस्तालाई नेतृत्व सुम्पनु अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन् ।

उनले जनताको वास्तविक आवश्यकता भन्दा पनि सत्ताको दाउपेच र चुनावी समीकरणलाई मात्र प्राथमिकता दिएको व्यंग्य गर्दै जनताको स्वाद नबुझी खोलिएका दोकान चल्न नसक्ने बताए ।

उनले लेखेका छन्– ‘जनताको स्वाद नबुझी खोलिएका ‘दुकान’ पुरानै सेल्सम्यान र मालिकले जति सिँगार गरे पनि चल्दैनन् ।’

नेता भण्डारीले नेपालका राजनीतिक पार्टीहरू कोसँग मिल्ने/नमिल्ने भन्ने कुरा जनताको चासोको विषय नभएकाले सत्तामा हुँदा गुमेको विश्वास फिर्ता गर्ने मार्ग खोज्न आग्रह गरेका छन् । उनले भनेका छन्– सत्तामा हुँदा गुमेको विश्वास पिँढीमा बसेर गरिने गफले फर्किँदैन ।’

उनले आम नागरिकले अब पुरानै आश्वासन नभई ठोस परिणाम खोजिरहेको सङ्केत गरेका छन् । दलका सिद्धान्त र विचारलाई समयसापेक्ष परिवर्तन नगर्ने र नेतृत्वमा अनुहार नबदल्ने हो भने नयाँ पार्टी वा पुरानै संरचनाले जनविश्वास जित्न कठिन हुने उनको तर्क छ ।

नेता भण्डारीले मुलुकमा अन्धभक्त, चाप्लुसी र मीठो कुरा गरेर जनतालाई भ्रममा पार्ने प्रवृत्ति घातक रोग भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘जिब्रोको चाकडी त रोग नै हो नि !’

८ बैशाख २०८३, मंगलवार ११:३५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०