काठमाडौं । देशका केही स्थानमा आज (वैशाख ८) ‘तातो दिन’को पूर्वानुमान छ । पश्चिम तराईका थोरै स्थानमा तातो हावाको लहर समेतको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस दिन दिपायल, धनगढी, नेपालगन्ज, भैरहवामा तातो हावाको लहरको पूर्वानुमान छ । वीरेन्द्रनगर, घोराही, सिमरा, जनकपुरमा तातो दिनको सम्भावना रहेको विभागले जनाएको छ ।
पश्चिम तराईका केही स्थानमा आइतबार (वैशाख ६)यता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । सोमबार (वैशाख ७) भैरहवाको अधिकतम तापक्रम ४१.६, नेपालगन्जको ४०.३, धनगढीको ३९.५, दिपायलको ३८.८ डिग्री मापन गरिएको विभागले जनाएको छ ।
काठमाडौंलगायत स्थानमा मौसम ‘मुख्यतया सफा’ रहने विभागको पूर्वानुमान छ ।
“लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा आगामी तीन दिनसम्म मध्यम तातो लहरको सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ,” विभागले सोमबार साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।
विभागले कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देहीवासीलाई गर्मीबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ ।
अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सिन्धुली र उदयपुरवासीलाई गर्मीका विषयमा अध्यावधिक रहन भनेको छ ।












