काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम स्थगन गरेको छ । केन्द्रीय कार्यालयका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालले मातहतको समितिलाई पत्र पठाउँदै कार्यक्रम स्थगित भएको जानकारी गराएका छन् ।
जारी परिपत्रमा भनिएको छ, ‘…७ वटै प्रदेशमा निर्वाचन समीक्षा तथा १५औँ महाधिवेशन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा, कर्णाली प्रदेशअन्तर्गत सुर्खेत जिल्लामा मिति २०८३ साल वैशाख ११ गतेका लागि पूर्व निर्धारित कार्यक्रम विशेष कारणवशको सूचना जारी नभएसम्मका लागि स्थगन गरिएकोले सम्बन्धित सबैमा सो को जानकारी गराउनु हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’
यसअघि वैशाख ६ गतेको लागि तय भएको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रम पनि स्थगित गरेको थियो । कांग्रेसले अहिलेसम्म मधेश, गण्डकी, लुम्बिनी र बागमतीमा कार्यक्रम गरिसकेको छ भने कोशीमा बुधवारको लागि तय भएको छ।
स्थगित भएको दुई प्रदेशको नेतृत्व पूर्वसभापति शेरबहादुर देउवा निकटका हुन् । कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायर सभापति छन् । आन्तरिक विवाद चलिरहेको बेला प्रदेश नेतृत्वबाट असहयोग हुने भएकाले कार्यक्रम स्थगित गरिएको बताइन्छ ।
चुनावी समीक्षा कार्यक्रममा पार्टी सभापति गगन थापासहित पार्टीका शीर्ष पदाधिकारीहरूले सम्बोधन गर्दै आइरहेका छन्।











