काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारले ल्याएको दुई दिन बिदाको नीतिका कारण अव्यवस्थित बनेको स्वास्थ्य क्षेत्र सुधारका लागि आफूले गरेका चार काम सम्झाएका छन् ।
उनले ओपिडी सेवा खुम्च्याउन नहुने र बिरामीको सास्ती हटाउँनु पर्ने बताउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले आफूले बिगतमा सुरु गरेका कामलाई निरन्तरता दिन पनि अनुरोध गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘केही समय यता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपिडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेको छ । सरकारीमा मात्र रोकिएको ओपिडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको छ भने अर्कोतिर बिरामीलाई आर्थिक बोझ थपिदिएको छ ।’
उनले विगतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा गरेको कामहरु सम्झँदै बुँदागतरुपमा सुझाव पनि दिएका छन् । उनले दिएका सुझावहरु यस्ता छन्ः
१. अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएका थियौँ ।
२. सरकारी अस्पतालहरूमा हुने सेवाग्राहीको चापलाई ध्यानमा राखेर ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने र एक्स्टेन्डेड हेल्थ सर्भिसमार्फत सेवाको समय बढाउने जस्ता अन्य थुप्रै सुधारका काम सुरुवात गरेका थियौँ ।
३. स्वास्थ्य सेवा विशिष्ट सेवा भएकोले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि थप प्रोत्साहन भत्ता दिन अध्ययन प्रतिवेदन तयार गरी त्यसको कार्यान्वयन सुरु गरेका थियौँ ।
४. अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न पहिलो चरणमा २ हजार ५ सय नयाँ जनशक्ति थप गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएका थियौँ ।
पौडेलले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामार्फत आम नागरिकलाई सहज र सरल रूपमा गुणस्तरीय सेवा उपलब्ध गराएर निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेर मात्र समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बनाउन सकिने सुझाव दिएका छन् ।
उनले भनेका छन्, ‘स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट बञ्चित गर्ने होइन, यसलाई अझ बढी विस्तार गर्ने नीति आवश्यक छ ।’ उनले बिगतमा सुरुवात गरेका समग्र सुधारका विषयलाई निरन्तरता दिएर स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन सरकारसँग अनुरोध गरेका छन् ।












