काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत घरेलु मैदानमा भइरहेको एक दिवसीय श्रृंखलाको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ ।
खेल काठमाण्डौको कीर्तिपुर रङ्गशालामा बिहान साढे ९ बजेदेखि शुरु हुनेछ । लिग–टु अन्तर्गत यसअघि भएको पहिलो खेलमा शनिबार नेपालले युएईलाई ३७ रनले हराएको थियो । नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभर दुई बलमा १६३ रनमा अलआउट भएको थियो ।
अस्ति सोमबार भएको खेलमा युएईले ओमानलाई २५ रनले हराएको थियो । यो शृङ्खलामा नेपाल, युएई र ओमान सहभागी छन् । नेपाल आठ टोली सहभागी लिग–टु मा २१ खेलबाट १४ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ ।
ओमान २५ खेलमा २९ अङ्कसहित तेस्रो र युएई २२ खेलमा १२ अङ्कसहित पुछारमा छ । अहिले खेलिरहेका तीन वटै टोलीले एक आपसमा दुई÷दुई खेल खेल्नेछन् ।











