काठमाडौं । रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज भएको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई पत्र पठाएर साधारण सदस्यता खारेज गरिएको जानकारी दिएका हुन् ।
अनुशासन आयोगमा बाराबाट निर्वाचित ४ जना सांसदहरुले स्वर्णकारविरुद्ध उजुरी दिएका थिए । आर्थिक अनियमिता, पार्टी संगठन परिचालन नगरेको, विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको लगायत आरोप उनीमाथि लागेको थियो । त्यसैले उनलाई कारबाही गरिएकाले रास्वपाले जनाएको छ ।
रास्वपा नेताहरुका अनुसार बारा जिल्ला समिति भंग गरेर नयाँ समिति बनाउन केन्द्रबाट प्रतिनिधि खटाइसकिएको छ । पार्टीबाट निस्कासित भएका स्वर्णकारले भने आफ्नो ‘राजनीतिक हत्या’ भएको टिप्पणी गरेका छन् ।
आफूमाथि भएको कारबाहीको व्यहोराको पत्र सार्वजनिक गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा । आदरणीय आम जनसमुदाय, षड्यन्त्रको पराकाष्ठा कस्तो हुन्छ भन्ने कुराको अन्तिम प्रमाण यही पत्र हो ।’
उनले तथ्य र प्रमाणहरूलाई पूर्ण रूपमा नजरअन्दाज गर्दै, विना कुनै निष्पक्ष छानबिन, केन्द्रले जेठ ९ गते हुन लागेको बाराको विस्तारित बैठक र अधिवेशनको ठीक अगाडि आफूलाई साधारण सदस्य समेत नरहने गरी खारेज गरेको आधिकारिक पत्र पठाएको उनले लेखेका छन् ।
अधिवेशनमा पार्टी सदस्यहरूले आफूलाई पुन: जिल्ला सभापति चुन्ने डरले सांसदहरुको दबाबमा आफूलाई पार्टीबाटै निष्कासन गरिएको उनको आरोप छ ।












