९ जेष्ठ २०८३, शनिबार
Follow us :

रवि, जिबी र छविको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता

कान्तिपुर प्रेस

काठमाण्डौ – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै गितेन्द्रबाबु राई (जिबी) विरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ ।

तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । निवेदनमाथि हिजो न्यायाधीश हिमलाल बेलबासेको इजलासले फैसला गर्दै रविसँगै जिबी राई र अरू प्रतिवादीहरूको पनि सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो ।

पूर्वडिआइजी छविलाल जोशीको पनि मुद्दा फिर्ता भएको हो । तत्कालीन महान्यायाधिवक्ता भण्डारीले गएको पुस ३० गते रवि लामिछानेको हकमा मात्रै मुद्दा संशोधन गर्ने निर्णय गरेकोमा त्यसमा त्रुटि भएको बताउँदै माघ २ गते जिबी राईसहित अरू प्रतिवादीको पनि अभियोग संशोधन गर्न अनुमति दिनुभएको थियो ।

जाहेरवालाका बचत रकम शीघ्र फिर्ता दिलाउनका लागि निवेदकले सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध कसुर झिक्ने गरी दिएको निवेदनमा कुनै दुराशय नदेखिएको भन्दै अदालतले यस्तो आदेश गरेको छ । आदेश दिँदा अदालतले चार वटा कारण दिएको छ ।

पहिलो सरकारले शुरूमा सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको थिएन । पीडितहरूको जाहेरीमा पनि यी दुई कसुरको आरोप थिएन । दोस्रोमा यी दुई कसुर नझिके पीडित र पीडक पक्षबीच मिलापत्रबाट बचत रकम फिर्ता पाउन नसक्ने र प्रक्रिया झन् जटिल बन्ने देखिएको उल्लेख छ ।

तेस्रो कारणमा यी दुई कसुर झिके पनि न्यायको मुल मर्म भने पराजित नहुने अदालतको भनाइ छ । चौथोमा मुद्दा कायम नगर्न भनेर निवेदन दिने अभियोजनकर्ताको दुराशय नदेखिएको पनि अदालतको आदेशमा उल्लेख छ ।

९ जेष्ठ २०८३, शनिबार ०७:४३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०