काठमाडौँ । प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध सर्वोच्च प्रशासनले गरेको दरपीठ निवेदन सदर भएको छ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा सर्वोच्च प्रशासनले गरेको दरपीठ सदर गरिदिएको हो ।
अदालतले प्रधानन्यायाधीश सिफारिस कार्यान्वयन भई नेपालको संविधानको धारा २९२ बमोजिम संसदीय सुनुवाइ समेत भएर प्रधान न्यायाधीश नियुक्तिको कार्य सम्पन्न भइसकेकाले निवेदकको माग सर्वोच्च प्रशासनले गरेको दरपीठ सदर गरिदिएको छ ।
संवैधानिक परिषद्को निर्णयविरूद्धको सर्वोच्च प्रशासन गरेको दरपीठ सदर गरेसँगै प्रधान न्यायाधीश सिफारिसविरूद्धको रिट दर्ताको बाटो बन्द भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीर प्रेमराज सिलवालले आफूले लगेका रिटमा दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध इजलासमा सुनुवाइको माग गर्दै भिन्नाभिन्नै निवेदन दिएका थिए ।
सर्वोच्च अदालतका रजिस्ट्रारको प्रशासनिक तवरबाट गत वैशाख २५ गते प्रधान न्यायाधीश सिफारिसविरूद्ध परेका तीन वटा रिट दरपीठ गर्ने आदेश भएको थियो । त्यसविरुद्ध परेका निवेदन सर्वोच्च प्रशासनले एक सातासम्म ‘होल्ड’ राखेर प्रधान न्यायाधीशमा नियुक्ति र शपथपछि दर्ता गरेको थियो ।













