१८ जेष्ठ २०८३, सोमबार
Follow us :

रास्वपा सभापति लामिछाने आज भारत भ्रमण जाँदै

कान्तिपुर प्रेस

काठमाण्डौ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ ।

रास्वपाका अनुसार सभापति लामिछाने भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि आउँदो शुक्रवारसम्म भारत भ्रमणमा जानुहुनेछ ।

लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ । साथै उहाँले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । भारत भ्रमणकै बेला सभापति लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ ।

पार्टी सभापतिसँगै उहाँकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य पनि भारत जाने रास्वपाले जनाएको छ । भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाको विज्ञप्तिमा उल्लेख छ ।

भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डा. विजय चौथाइवालेले जारी गर्नुभएको विज्ञप्ति अनुसार यो भ्रमणले रास्वपा र भाजपा दुवै पार्टीबीच सहकार्य शुरू गर्ने उद्देश्य राखेको छ ।

साथै, संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान गर्ने अपेक्षा गरिएको छ । भाजपाले रास्वपा प्रतिनिधिमण्डलसँग रचनात्मक संवाद हुने विश्वास समेत व्यक्त गरेको छ ।

१८ जेष्ठ २०८३, सोमबार ०९:५४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०