काठमाण्डौ - पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ । निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा–जोमसोम नियमित हवाई सेवा उडान करिब तीन महिनाका लागि बन्द गरेको जनाएका छन् ।
बर्खा यामको मनसुन, मौसम प्रतिकूलता र पर्यटकीय अफसिजनलगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा–जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो ।
जोमसोम नागरिक उड्डयन कार्यालयले बर्सेनि हिउँद याम र बर्खा यामको समयमा अल्पकालीन रूपमा पोखरा–जोमसोम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ ।
नियमित हवाई उडान सेवा बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।











