एक गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै ब्राजिलले फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा स्थान बनाएको छ। राउण्ड अफ ३२ अन्तर्गत अमेरिकाको ह्युस्टनमा सोमबार सम्पन्न खेलमा ब्राजिलले जापानलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
खेलको २९औँ मिनेटमा काइसु सानोले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। पहिलो हाफभरि १–० ले पछि परेको ब्राजिलले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्दै पुनरागमन गर्यो।ब्राजिलका कासेमिरोले ५६औँ मिनेटमा आकर्षक हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले जितका लागि आक्रामक प्रयास गरे पनि निर्धारित समयमा थप गोल हुन सकेन।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई २–१ को रोमाञ्चक जित दिलाए। इन्जुरी समयमा आएको उक्त गोलसँगै ब्राजिलले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्यो। जितसँगै ब्राजिलले उपाधि यात्रालाई निरन्तरता दिएको छ भने जापानको चुनौती राउण्ड अफ ३२ मै समाप्त भएको छ।











