कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडामा कर्णाली नदीमा खसेको गाडी र बेपत्ता यात्रुको खोजीकार्यलाई थप प्रभावकारी बनाउन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले निर्देशन दिएका छन्।
शुक्रबार प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग विशेष बैठक गर्दै मुख्यमन्त्री कडेलले उपलब्ध सम्पूर्ण साधन र स्रोत परिचालन गरी खोजी कार्यलाई तीव्रता दिन आग्रह गरेका हुन्। उनले सुरक्षा निकायले हालसम्म गरेको प्रयासको प्रशंसा गर्दै खोजीको दायरा दैलेखदेखि भारतको सीमासम्म विस्तार गर्न र आवश्यकता परेको खण्डमा हेलिकप्टरसमेत परिचालन गर्न निर्देशन दिएका छन्।
बैठकमा नेपाल प्रहरीका डीआईजी जयराज सापकोटाले नदीको धमिलो पानी, अधिक गहिराइ र भौगोलिक जटिलताका कारण खोजीकार्य निकै चुनौतीपूर्ण बनेको जानकारी दिए। यद्यपि, सबै सुरक्षा निकायको समन्वयमा खोजी कार्य जारी राखिएको उनले बताए। सशस्त्र प्रहरीका डीआईजी कृष्णराज पाठकले घटनास्थलमा गोताखोर परिचालन गरिएको र थप जनशक्ति कुरिनटारबाट पठाइसकिएको जानकारी गराए। यसैगरी, नेपाली सेनासमेत उद्धार कार्यमा खटिएको छ भने ड्रोन क्यामेराको सहायताले नदी किनारका सम्भावित स्थानहरूमा खोजी भइरहेको सुरक्षा निकायले जनाएको छ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो। उक्त दुर्घटनामा हालसम्म एक जनाको शव फेला परेको छ भने गाडी र त्यसमा सवार अन्य यात्रुहरूको अवस्था अझै अज्ञात छ।











