गृहयुद्धले आक्रान्त सुडानमा सर्वसाधारणलाई लक्षित गरी भएका छुट्टाछुट्टै ड्रोन आक्रमणमा कम्तीमा २० जनाको ज्यान गएको छ। पछिल्ला घटनाले युद्धमा मानवरहित विमान (ड्रोन) को प्रयोग झन् बढ्दै गएको र नागरिकहरू सबैभन्दा बढी प्रभावित भइरहेको देखिएको छ।
सुडान डक्टर्स नेटवर्कका अनुसार राजधानी खार्तुमको बाहिरी क्षेत्रमा विवाह समारोहमा सहभागी हुन जाँदै गरेका सर्वसाधारण चढेको सवारीसाधनमाथि बुधबार ड्रोन आक्रमण हुँदा एउटै परिवारका पाँच महिलासहित १० जनाको घटनास्थलमै मृत्यु भएको हो। आक्रमणपछि सवारीसाधनमा आगलागी हुँदा सबै यात्रुको ज्यान गएको बताइएको छ।
चिकित्सा सहायता समूहले उक्त आक्रमणको जिम्मेवार अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (RSF) लाई ठहर गर्दै सर्वसाधारणलाई लक्षित हिंसा तत्काल रोक्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब बढाउन आग्रह गरेको छ।
यसअघि नर्थ कोर्डोफान प्रान्तमा पानी आपूर्ति केन्द्र नजिकै भएको अर्को ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको थियो। त्यही प्रान्तको अल–शातउट क्षेत्रमा विवाहमा जाँदै गरेको अर्को सवारीसाधनमाथि भएको ड्रोन प्रहारमा पाँच महिलासहित १३ जनाले ज्यान गुमाएका थिए।
अधिकारवादी संस्था इमर्जेन्सी लयर्स का अनुसार पछिल्ला दिनहरूमा सर्वसाधारणमाथि ड्रोन आक्रमणको घटना तीव्र रूपमा बढिरहेको छ। संयुक्त राष्ट्रसंघले नर्थ कोर्डोफान क्षेत्रमा भएका आक्रमणबाट विद्युत् पूर्वाधार, आवासीय बस्ती, पुल तथा आपूर्ति मार्गमा समेत ठूलो क्षति पुगेको जनाएको छ।
सुडानमा सेना र र्यापिड सपोर्ट फोर्स (RSF) बीच सन् २०२३ को अप्रिलदेखि जारी गृहयुद्धमा हालसम्म कम्तीमा ५९ हजार जनाको मृत्यु, करिब १ करोड ३० लाख मानिस विस्थापित तथा ३ करोडभन्दा बढी नागरिक मानवीय सहायता मा निर्भर रहेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ।












