५ श्रावण २०८३, मंगलवार
Follow us :

वी.पी. कोइरालाको लोकतान्त्रिक चिन्तनबारे अन्तर–माध्यमिक वक्तृत्व प्रतियोगिता सम्पन्न

कान्तिपुर प्रेस

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा मुर्धन्य साहित्यकार विश्वेश्वर प्रसाद (वी.पी.) कोइरालाको ४४औँ स्मृति सप्ताह प्रारम्भको अवसरमा वी.पी. चिन्तन प्रतिष्ठान नेपाल, चितवन शाखाले आयोजना गरेको अन्तर–माध्यमिक (कक्षा ९–१२) स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
सहिद स्मारक क्याम्पस, भरतपुर–१९ शारदानगरमा आयोजित प्रतियोगिताको विषय ‘वी.पी. कोइरालाका लोकतान्त्रिक चिन्तन’ रहेको थियो। भरतपुर महानगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिताको उद्देश्य वी.पी. कोइरालाको लोकतान्त्रिक विचार, राष्ट्रिय एकता, प्रजातान्त्रिक मूल्य–मान्यता तथा समाजवादी चिन्तनलाई नयाँ पुस्तामाझ पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस चितवनका उपसभापति तथा वी.पी. चिन्तन प्रतिष्ठान नेपाल, चितवन शाखाका अध्यक्ष शालिग्राम शर्माले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल सहभागी हुनुहुन्थ्यो। विशिष्ट अतिथि नेपाली कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाले वी.पी. कोइरालासँग बिताएका राजनीतिक जीवनका अनुभव सुनाउँदै उहाँको व्यक्तित्व र नेतृत्वबारे चर्चा गर्नुभएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, सचिव ध्रुव पोखरेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. सूर्यकान्त घिमिरे, सहिद स्मारक क्याम्पसका क्याम्पस प्रमुख बसन्तकुमार पौडेल, क्याम्पस व्यवस्थापन समिति अध्यक्ष बेलबहादुर गुरुङ, गुञ्जानगर रेडक्रस उपशाखाका अध्यक्ष हरिराज अर्याल, नेपाली कांग्रेस ललितपुरका आईटी प्रमुख उपेन्द्र अर्याल, भरतपुर–१७ का जनप्रतिनिधि चेतराम शर्मा, रेडियो साहिनोका सञ्चालक विश्वनिधि अर्याललगायत विभिन्न वडाका कांग्रेसका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।
संस्थाका उपाध्यक्ष देबेन्द्र गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संयोजक तथा प्रतिष्ठानका कार्यसमिति सदस्य मुक्तिनाथ ढकालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव दामोदर रिजालले गर्नुभएको थियो।
कार्यक्रममा शिक्षक कृष्णप्रसाद न्यौपाने, विजय भुषाल, बेलबहादुर गुरुङ तथा संविधानसभा सदस्य विष्णुमाया परियारले वी.पी. कोइरालाको लोकतान्त्रिक विचार, समाजवाद, राष्ट्रियता तथा समावेशी राजनीतिक दृष्टिकोणबारे आफ्ना धारणा राख्नुभएको थियो।
प्रतियोगितामा गुरुकुल माध्यमिक विद्यालयका निकेश न्यौपाने प्रथम, गुरुकुल माध्यमिक विद्यालयकै स्वर्णिमा रेग्मी द्वितीय तथा सनराइज इङ्गलिस माध्यमिक विद्यालयकी सजीना खड्का तृतीय हुन सफल भए। परमानन्द स्मृति विद्याभवन गुरुकुलका निरज कलौनी र अर्किड माध्यमिक विद्यालयकी सुप्रिया अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरे।
विजेता विद्यार्थीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई सहभागिता प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। निर्णायक मण्डलमा नारायणप्रसाद चालिसे, जगन्नाथ पण्डित र सुरक्षा सापकोटा रेग्मी रहनुभएको थियो। उहाँहरूले विद्यार्थीहरूको प्रस्तुति, विषयवस्तुको गहनता, वाक्कला र तथ्यपरकताको आधारमा मूल्याङ्कन गर्नुभएको थियो।
प्रमुख अतिथि राजेश्वर खनालले वी.पी. कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका प्रणेता भएको उल्लेख गर्दै उहाँका विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो। यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा लोकतान्त्रिक मूल्य, राजनीतिक चेतना र जिम्मेवार नागरिक बन्ने भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।
आयोजकले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा अझ व्यापक र प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्ने जनाएको छ। सहभागी विद्यार्थीहरूले वी.पी. कोइरालाको बहुआयामिक व्यक्तित्व, लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान र नेपालको राजनीतिक इतिहासबारे तथ्यपरक तथा प्रभावशाली प्रस्तुति दिएका थिए। नयाँ पुस्तालाई राष्ट्रिय नेतृत्वको विचारधारासँग जोड्ने माध्यमका रूपमा कार्यक्रम सफल भएको आयोजकको निष्कर्ष रहेको छ।

५ श्रावण २०८३, मंगलवार ०६:१८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०