काठमाडौं । नेपाल बाल सङ्गठन (बाल मन्दिर) को जग्गा र सरकारी बजेट दुरुपयोग गरी अनाथ तथा असहाय बालबालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको आरोपमा ८ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीविरुद्ध अभियोगपत्र दर्ता गरेको हो।
मुद्दा दायर गरिएकामध्ये तत्कालीन योजना प्रमुख तथा हाल काठमाडौं महानगरपालिका–११ की वडा सदस्य आशा श्रेष्ठ, काठमाडौं जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य पक्राउ परिसकेका छन्। फरार रहेका तत्कालीन सभापति युरीकुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य र तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकारविरुद्ध पनि मुद्दा दायर भएको छ।
यस प्रकरणकी मुख्य योजनाकार मानिएकी तत्कालीन केन्द्रीय अध्यक्ष रिता सिंह वैद्यको निधन भइसकेकाले उनलाई प्रतिवादी बनाइएको छैन। मुद्दा उच्चस्तरीय जाँचबुझ आयोग–२०७७ को प्रतिवेदन र सीआईबीको अनुसन्धानका आधारमा दायर गरिएको हो।
अनुसन्धानअनुसार रिता सिंह वैद्यले नक्सालस्थित बाल मन्दिरको २९ रोपनी जग्गा कुनै सार्वजनिक सूचना वा प्रतिस्पर्धाबिना मनोजकुमार मिश्रलाई भाडामा दिने सम्झौता गरी ७५ लाख रुपैयाँ नगद लिएको खुलेको छ। साथै बालबालिकाको हितमा खर्च हुनुपर्ने कोषबाट उपचार, परिवारको किरिया खर्च र व्यक्तिगत सवारी साधन खरिदमा रकम खर्च गरिएको आरोप छ।
सीआईबीका अनुसार राजेन्द्रकुमार श्रेष्ठले आफ्नै नाममा गाडी खरिद गरी त्यसको किस्ता बाल मन्दिरको कोषबाट तिराएका थिए भने उक्त गाडी तत्कालीन सभापति भगवान शाक्यले व्यक्तिगत प्रयोजनमा प्रयोग गरेका थिए।
त्यसैगरी हाल वडा सदस्य रहेकी आशा श्रेष्ठले सार्वजनिक पदमा निर्वाचित भएपछि पनि नियमविपरीत बाल मन्दिरबाट ‘परिवहन भत्ता’ शीर्षकमा मासिक रकम लिँदै आएको अनुसन्धानबाट खुलेको अभियोगपत्रमा उल्लेख गरिएको छ।
यदि अदालतबाट आरोप प्रमाणित भएमा अभियुक्तहरूलाई प्रचलित कानुनबमोजिम ठगी तथा सम्बन्धित अन्य कसुरमा सजाय हुन सक्नेछ। हाल मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको छ।











