पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको र करिब दुई दर्जन घाइते भएको आन्दोलनसँग आबद्ध प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन्। घटनाबारे समाचार तयार पार्दासम्म पाकिस्तानी अधिकारीहरूले कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
सार्वजनिक गरिएको भिडियोमा संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का कोर सदस्य इम्तियाज असलमले प्रदर्शनकारीहरूको काफिला चिनार चोक हुँदै मकबूल भट शहीद चोकतर्फ अघि बढ्ने क्रममा सुरक्षा बलले गोली चलाएको आरोप लगाएका छन्। उनका अनुसार मृतकमध्ये आन्दोलनका संस्थापक उमर नाजिर कस्मिरीका कान्छा भाइ उस्मान नाजिर पनि रहेका छन्। अन्य मृतकहरू खैगला, कोटली, तत्तापानी, बञ्जा–बासपुर, छोटा गाला, हवेली तथा दुई जना बलुच सहभागी रहेको पनि उनले दाबी गरेका छन्।
असलमले करिब दुई दर्जन प्रदर्शनकारी घाइते भएको बताउँदै विदेशमा रहेका कश्मीरी समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन आग्रह गरेका छन्। उनले मिरपुर र मुजफ्फराबाद क्षेत्रमा इन्टरनेट तथा मोबाइल सेवा बन्द गरिएको दाबी गर्दै सञ्चार अवरुद्ध भएकाले आन्दोलनकारीहरू पैदल यात्रा गर्दै तीनदेखि चार दिनभित्र मुजफ्फराबाद पुग्ने योजना रहेको बताएका छन्।
अर्का एक प्रत्यक्षदर्शीले प्रदर्शन शान्तिपूर्ण रहेको दाबी गर्दै सुरक्षा बलले बल प्रयोग गरेको आरोप लगाएका छन्। यद्यपि, गोली चलाइएको, १४ जनाको मृत्यु भएको तथा अन्य सबै विवरण आन्दोलनसँग सम्बद्ध प्रत्यक्षदर्शीहरूको दाबीमा आधारित छन्। घटनाबारे पाकिस्तानी अधिकारीहरूले हालसम्म कुनै आधिकारिक पुष्टि वा प्रतिक्रिया दिएका छैनन्।











