काठमाडौं, साउन १२ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको झण्डै एक महिना बित्न लाग्दा पनि बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा समायोजन नभएको भन्दै सर्वसाधारण मर्कामा परेका छन्। अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा घटे पनि प्रदेशभित्रका र काठमाडौं उपत्यकाका सार्वजनिक सवारीसाधनमा भने पुरानै भाडादर कायम छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले सङ्घीय सरकारले अन्तरप्रदेशको भाडा समायोजन गरिसकेको भए पनि प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्रको भाडा वैज्ञानिक आधारमा पुनरावलोकन नगरेको गुनासो गर्नुभयो। उहाँले पटक–पटक भाडा समायोजनको माग राख्दा पनि प्रदेश सरकारले चासो नदिएको उल्लेख गर्दै पेट्रोलियम मूल्य घट्दा यात्रुले पनि त्यसको प्रत्यक्ष लाभ पाउनुपर्ने धारणा राख्नुभयो।
बागमती प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ अधिकृत खगेन्द्र पौडेलले मन्त्रालयको जिम्मेवारी र संरचनामा भएको परिवर्तनका कारण भाडा समायोजन प्रक्रिया केही ढिलो भएको स्वीकार गर्नुभयो। उहाँका अनुसार केही दिनभित्रै प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गर्ने तयारी भइरहेको छ।
यातायात व्यवस्था विभागले भने गत असार १८ गते अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर दुई प्रतिशतले घटाएको थियो। विभागले डिजेलको औसत मूल्यमा आएको गिरावटका आधारमा स्वचालित प्रणालीमार्फत नयाँ भाडादर लागू गरेको जनाएको छ।











