१२ श्रावण २०८३, मंगलवार
Follow us :

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

मनसुनी वायु सक्रिय, बागमती, गण्डकी, लुम्बिनीसहित अधिकांश प्रदेशमा वर्षा जारी

कान्तिपुर प्रेस

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ अवस्थित छ। यसका कारण आगामी केही दिन देशका विभिन्न स्थानमा वर्षाको क्रम जारी रहने सम्भावना रहेको छ।

मंगलबार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।बुधबार देशका हिमाली तथा पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। यस दिन कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, बिहीबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बुधबार र बिहीबार सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

मौसमविद्ले भारी वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा भूक्षय, पहिरो, सडक अवरोध तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

१२ श्रावण २०८३, मंगलवार २०:२१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०