१३ श्रावण २०८३, बुधबार
Follow us :

टाटा पन्च ईभी फेसलिफ्ट नेपालमा सार्वजनिक, ठूलो ब्याट्री र नयाँ फिचरसहित अपडेट

टाटा पन्च ईभी फेसलिफ्ट नेपाल आइपुगेको छ। नयाँ डिजाइन, ३० र ४० किलोवाट–आवर ब्याट्री विकल्प तथा आधुनिक फिचरसहित सिप्रदीले बिक्री सुरु गरेको हो।

कान्तिपुर प्रेस

टाटा मोटर्सको लोकप्रिय विद्युतीय एसयूभी पन्च ईभी फेसलिफ्ट नेपाली बजारमा भित्रिएको छ। टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ संस्करण नेपाल ल्याएको हो। कम्पनीका अनुसार फेसलिफ्ट मोडलमा नयाँ डिजाइन, ठूलो ब्याट्री प्याक र थप आधुनिक प्रविधि समावेश गरिएको छ।

नयाँ पन्च ईभीको बाहिरी डिजाइनमा केही परिमार्जन गरिएको छ। अगाडिको बम्परलाई नयाँ स्वरूप दिइएको छ भने क्लोज्ड–अफ ग्रिल डिजाइनलाई निरन्तरता दिइएको छ। हेडलाइट जोड्ने कालो ट्रिम हटाइएको छ भने वाई–आकारका एलईडी डीआरएल र अगाडिको चार्जिङ फ्ल्यापलाई यथावत् राखिएको छ। पछाडिको भागमा कनेक्टेड एलईडी टेललाइट समावेश गरिएको छ।

फेसलिफ्ट संस्करणमा अघिल्लो मोडलको तुलनामा ठूलो ब्याट्री प्याक उपलब्ध गराइएको छ। नयाँ पन्च ईभी अब ३० किलोवाट–आवर र ४० किलोवाट–आवरका दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। यसअघि यो मोडल २५ किलोवाट–आवर र ३५ किलोवाट–आवर ब्याट्री विकल्पमा बिक्री हुँदै आएको थियो।

नयाँ संस्करणले ६५ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने सुविधा पनि पाएको छ। यसले चार्जिङ समय घटाउँदै प्रयोगकर्तालाई थप सहजता प्रदान गर्ने कम्पनीको दाबी छ।

इन्टेरियरमा पनि नयाँ ट्रिम फिनिस र डुअल–टोन कलर थिम समावेश गरिएको छ। गाडीमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन र १०.२५ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छ।

भेरियन्टअनुसार वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार प्रविधि, ३६० डिग्री क्यामेरा लगायतका सुविधा उपलब्ध गराइएको छ। नयाँ फिचर र बढाइएको रेन्जका कारण पन्च ईभी फेसलिफ्ट नेपाली विद्युतीय एसयूभी बजारमा थप प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ।

 

१३ श्रावण २०८३, बुधबार १३:४३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०