काठमाडौं । ड्राइभिङ लाइसेन्स अझै छापिएको छैन भने अब सेवाग्राहीले आफ्नो लाइसेन्सको म्याद तुरुन्तै जाँच गर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी रहेका लाइसेन्सको कार्ड नछाप्ने निर्णय गरेको छ।
विभागका अनुसार यस्तो अवस्थामा रहेका सेवाग्राहीले आफ्नो पायक पर्ने यातायात कार्यालयमा गएर लाइसेन्स नवीकरण गर्न सक्नेछन्। नवीकरण गरेपछि सेवाग्राहीले एकैपटक १० वर्ष अवधिको नयाँ लाइसेन्स प्राप्त गर्ने व्यवस्था गरिएको छ।
विगत चार वर्षदेखि छपाइ मेसिन, सफ्टवेयर समस्या र जनशक्ति अभावका कारण ठूलो संख्यामा लाइसेन्स छापिन बाँकी रहेको विभागले जनाएको छ। पछिल्लो समय भने विभागले २७ लाखभन्दा बढी लाइसेन्स छापेर सम्बन्धित यातायात कार्यालयमा पठाइसकेको जनाएको छ।
विभागले लाइसेन्ससम्बन्धी सेवा पनि क्रमशः सहज बनाउँदै लगिएको जनाएको छ। अब राजस्व अनलाइनबाट तिर्न सकिने, लाइसेन्स विवरणमा भएका त्रुटि सच्याउन सकिने तथा वैदेशिक रोजगारीमा जानेका लागि आवश्यक इमर्जेन्सी लाइसेन्स सम्बन्धित कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था गरिएको छ।
विभागले म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी रहेका लाइसेन्सधारीलाई कार्ड छापिने प्रतीक्षा नगरी समयमै नवीकरण गर्न आग्रह गरेको छ। यसबाट सेवाग्राहीले नयाँ लाइसेन्स प्राप्त गर्न सहज हुने विभागको भनाइ छ।











