धनुषा जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जनकपुरधाम तथा आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
जनकपुरधाम क्षेत्रमा बिहीबार बिहानैदेखि प्रदर्शनकारी सक्रिय भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले दिउँसो ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको साउन १४ गते बसेको बैठकको निर्णयका आधारमा अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार तोकिएको क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न रोक लगाइएको छ। प्रशासनले आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।
कर्फ्यु लागू गरिएको क्षेत्रमा उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै सिनुरजोडा चोकसम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एम.क्यु. स्टिल क्षेत्रदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिकाको नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिनुरजोडा, सोहनी, मणिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कादरी मस्जिद आसपासका क्षेत्र समेटिएका छन्।
जिल्ला प्रशासन कार्यालयले नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै जिल्लाको शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ।











