काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ। सहमतिपछि घटनासम्बन्धी आन्दोलनका माग सम्बोधन गर्ने प्रक्रिया अघि बढेको छ।
सहमतिअनुसार नेपाल सरकारसमक्ष दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ।सहमतिपत्रअनुसार घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइनेछ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने उल्लेख छ।
त्यसैगरी, प्रत्येक मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने सहमति भएको छ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
यसबाहेक, मृतकहरूको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।उक्त ६ बुँदे सहमतिपत्रमा मृतकका परिवारका प्रतिनिधि तथा गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्। सरकारले सहमतिका बुँदाहरू कार्यान्वयनका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाउने जनाएको छ।












