नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीलगायत जिल्लामा पछिल्ला दिनमा भएका घटनाको सन्दर्भमा सामाजिक सद्भाव कायम राख्न पार्टीका नेता तथा जनप्रतिनिधिलाई निर्देशन दिएका छन्। उनले सद्भाव भड्काउने गतिविधिमा संलग्न भएको पुष्टि भए पार्टी सदस्यलाई निष्कासनसम्मको कारबाही गरिने स्पष्ट चेतावनी दिएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार मध्याह्न आयोजित भर्चुअल छलफलमा सभापति थापाले कोशी प्रदेश सरकार, मधेस प्रदेश सरकार तथा दुवै प्रदेशका स्थानीय तहका जनप्रतिनिधिसँग समसामयिक अवस्था र शान्ति–सुरक्षाका विषयमा छलफल गरेका हुन्।
छलफलमा काठमाडौंमा रहेका पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पनि सहभागी भएका थिए। बैठकमा पछिल्ला घटनाले सामाजिक सद्भावमा पार्न सक्ने प्रभावबारे समीक्षा गर्दै स्थानीय तहमा संयमित भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरिएको थियो।
सभापति थापाले कुनै पनि प्रकारको उक्साहट, द्वेष फैलाउने अभिव्यक्ति वा सामाजिक सद्भाव बिगार्ने गतिविधि कांग्रेसको नीति र मूल्यविपरीत हुने उल्लेख गरे। उनले पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिलाई कानुनी शासन, सामाजिक सहिष्णुता र राष्ट्रिय एकतालाई प्राथमिकतामा राखेर जिम्मेवार ढंगले प्रस्तुत हुन निर्देशन दिएका छन्।
सुनसरीलगायत क्षेत्रमा भएका घटनापछि कांग्रेसले निरन्तर रूपमा शान्ति, सद्भाव र संयम कायम राख्न सार्वजनिक अपिल गर्दै आएको छ। पार्टीले सबै पक्षलाई संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ।











